दरबार हाइस्कुलको उद्घाटन कार्यक्रममा नीजी मिडियाका पत्रकारलाई ‘नो इन्ट्रि’ !

दरबार हाइस्कुलको उद्घाटन कार्यक्रममा सरकारी मिडियाका पत्रकारलाई मात्रै प्रवेश दिइएकाे छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेपछि दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम थियो। तर पत्रकारलाई त्यहाँ जान दिइएन।

अनआवश्यक भिडभाड बढ्ने भन्दै नीजी मिडियालाई प्रवेशमा निषेध गरिएकाे हाे।

भित्र जान नदिएपछि नीजी मिडियाका फोटो पत्रकारले बाहिरैबाट फोटो खिचेका थिए। 

काठमाडौं महानगरपालिका २७ रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा रहेको विद्यालय भवन चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको हाे।

गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको उद्घाटन कोभिड–१९ का कारण ढिलो भएको हो।

भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्सट्रक्सनले लिएको थियो। रु ८५ करोडको लागतमा निर्माण गरिएको यो चार तले भव्य भवन ४० कक्षा कोठाको छ। 

दरबार हाई स्कूलको एउटै भवनमा साधारण धारतर्फ भानु मावि र संस्कृत धारतर्फ संस्कृत मावि सुचारु रहँदै आएको छ। दुवै विद्यालय अलग अलग व्यवस्थापनमा सुचारु छन्। 

हाल ती दुवै विद्यालयमा गरी ३५० विद्यार्थी अध्ययनरत र ३५ शिक्षक कार्यरत छन्। भूकम्पले ध्वस्त बनेपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको खाली स्थानमा अस्थायी कक्षा कोठा बनाएर पठनपाठन हुँदै आएको छ। 

विसं २०७२ मा गोरखा भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएको उक्त हाइस्कूल को पुनःनिर्माणको शिलान्यास २०७५ साल साउन १८ गते भएको थियो। 

विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो। विसं १९६४ मा सर्वसाधारणका छोराछोरीलाई संस्कृत पढ्न का लागि खुला गरिएको सो विद्यालयमा २०४८ सालदेखि अन्य विषय पनि पढाउने गरेका थिए। 

विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ। अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको बताइएको छ। 

शुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्खी र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो। 

लामो समय काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछिमात्रै यस विद्यालयको पुनःनिर्माणको काम शुरु भएको थियो। 
 

प्रकाशित मिति: : 2020-10-21 13:21:00

प्रतिकृया दिनुहोस्