सारै सानो नक्सा भएकोले चुच्चो भाग नदेखिएको हो, तर लिम्यिपाधुरा हटाइएको होइन: प्रम कार्यालय

प्रधानमन्त्री केपी शर्मा ओलीकाे कार्यालयले दशैंको शुभकामना कार्डमा अंकित नेपालको नक्सामा लिम्पियाधुरासहितको भाग नदेखिएको भन्ने आरोप अस्वीकार गरेको छ।

प्रधानमन्त्री ओलीले दशैंको शुभकामनासहित जारी गरेको सन्देशमा प्रयोग गरिएको नेपालको निशानमा पुरानो नक्सा छापिएकाे भन्दै सामाजिक सञ्जालमा त्यसको ब्यापक विरोध भइरहेको बेला उक्त स्पष्टिकरण आएकाे हाे।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त नक्सा सानो आकारको भएकाले लिम्पियाधुराको चुच्चो भाग नदेखिएको जानकारी दिए।

‘सारै सानो नक्सा भएकोले चुच्चो भाग नदेखिएको हो तर लिम्यिपाधुरा हटाइएको होइन’, उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान दसैँको शुभकामना सन्देश जारी गरेका थिए।

प्रमुख विपक्षी नेपाली कांग्रेससँगै सामाजिक सञ्जालका प्रयोगकर्ताले यसप्रति चर्को आलोचना गरेका छन्।

 कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न गरेका छन्, ‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननिय @PM_Nepal  ? गम्भीर विमती दर्ज होस् ! देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ?’

भारतले नेपाली भूभागसहितको राजनीतिक नक्सा जारी गरेपछि नेपालले पनि लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो। उक्त नक्सालाई संविधान संशोधन गर्दै संघीय संसदले पास पनि गरिसकेको छ।

प्रकाशित मिति: : 2020-10-23 12:54:00

प्रतिकृया दिनुहोस्