अभिनेत्री लविना लोधको आरोप– महेश भट्ट बलिउडको ‘डन’

अभिनेत्री लविना लोधले एउटा भिडियो सार्वजनिक गर्दै फिल्म निर्देशक महेश भट्टमाथि धेरै गम्भीर आरोप लगाएकी छिन्। 

उनले महेश भट्ट र उनको परिवार मिलेर उनलाई प्रताडित गरिरहेको बताएकी छिन्। 

महेश भट्टको भान्जा समित सभरवालको श्रीमती रहेकी लविनाले आफ्नो श्रीमान ड्रग्स र देह व्यापारमा संलग्न भएको थाहा पाएपछि पारपाचुके गर्न खोजेकी थिइन। तर, महेश भट्ट आफ्नो पछाडि लागेको उनको आरोप छ। 

लविनाले आफ्नो घरमा जबदस्ती घुसेर भट्टले निकालन खोजेको आरोप लगाइन। उनले आफू र आफ्नो परिवारको जीवन रक्षाको लागि पनि आग्रह गरेकी छिन्। 

लविनाले भट्टको भान्जासँग पारपाचुके गर्न अदालतमा मुद्धा पनि दर्ता गरिसकेको बताइन। ‘कलाकारलाई ड्रग्स सप्लाई गर्ने थाहा पाएपछि मैले डिभोर्स गर्न चाहेको थिए। उनले सपना पब्बी, अमायरा दस्तुर जस्ता कलाकारसँग मिलेर ड्रग्स सप्लाई गर्थे,’ लविनाले भनेकी छिन्, ‘उनको फोनमा धेरै केटीहरूको फोटो हुन्थ्यो। उनी निर्देशकलाई देखाउँथे। उनी केटी सप्लाई गर्थे। यसको जानकारी महेश भट्टलाई पनि छ।’

लविनाले महेश भट्ट बलिउडको सबैभन्दा ठूलो डन भएको बताइन्। ‘उनी यी सबै कुरालाई निर्देशित गर्छन। यदी तपाई उनको अनुसार हिँड्नु भएन भने बाच्न दिँदैनन्। महेश भट्टले थुप्रै मानिसको जिन्दगी बर्बाद गरेका छन्। 

उनले थुप्रै अभिनेता, निर्देशक, कम्पोजरलाई कामबाट हटाएका छन्,’ उनले भनिन्। उनले महेश भट्टलाई फोनको भरमा काम गर्ने व्यक्ति बताइन्। ‘तपाईहरूलाई थाहा पनि हुदैन। उनी फोनबाटै सबै कुरा निप्टाउँछन्,’ उनको आरोप थियो। 

उनले उजुरी लिएर थुप्रै पल्ट मुम्बई प्रहरी कहाँ गएको तर आफ्नो उजुरी नै नलिने गरेको आरोप लगाइन। 

उनले आफू र आफ्नो परिवारलाई केही भयो भने यसको सम्पूर्ण जिम्मेवारी महेश भट्ट, मुकेश भट्ट, सुमित सभरवाल, साहिल सहगल र कुमकुम सहगलले लिनुपर्ने बताइन्। 

लविनाको यो आरोपको भट्ट प्रोडक्सनले खण्डन गरेको छ।

प्रकाशित मिति: : 2020-10-24 17:35:00

प्रतिकृया दिनुहोस्