गेल र मन्दीपको अर्धशतकसँगै कोलकाताविरुद्ध पन्जाबको सानदार जित

क्रिस गेल र मन्दीप सिंहको अर्धशतकसँगै किंग्स इलेभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)मा कोलकाता नाइट राइडर्समाथि सानदार जित निकालेको छ ।

सोमबार राति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको हो ।

कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्‍याे ।

पन्जाबको जितमा क्रिस गेल र मन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले । 

विस्फोटक ब्याटिङ गरेका मन्दीप सिंहले अविजित ६६ रन जोडे । उनले ५६ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरे ।

गेलले २९ बलमा ५१ रन बनाए । उनले आइपीएलमा पन्जाबका लागि १ हजार रन समेत पुरा गरे ।

मन्दीप र क्रिस गेलले दोस्रो विकेटका लागि १ सय रनको साझेदारी गरे।

यस्तै २५ बलमा ४ चौका प्रहार गरेका कप्तान केएल राहुलले २८ रन बनाए ।

कोलकाताका लक्की फर्गुसन र वरुण चक्रवर्तीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

कोलकाताका लागि शुबमन गिलले ४५ बलमा ३ चौका र ४ छक्कासहित ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।  

कप्तान इयान मोर्गनले ४० रनको योगदान गरे । मोर्गनले २५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । 

कप्तान  मोर्गन र शुभमनले चौथो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए।

खराब सुरुवात गरेको कोलकाताका लागि गिल र मोर्गनले चौंथो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए ।

यस्तै लक्की फर्गुसन २४ रनमा अविजित रहे । उनले  १३ बलमा ३ चौका र १ छक्काको मदतले अविजित २४ रन जोडेका हुन्।

कोलकातालाई सस्तैमा समेट्न पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै रबि बिश्नोई र क्रिस जोर्डनले २/२ विकेट लिए । ग्लेन म्याक्स्वेल र मुरुगान आश्विनले १/१ विकेट लिए ।

यस जितसँगै पन्जाब कोलकातालाई नै उछिन्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । पन्जाब र कोलकाता दुवैको १२ खेलमा १२ अंक भएपनि नेट रनरेटमा पन्जाब अघि बढेको हो । मुम्बई, दिल्ली र बेंगलोर ११ खेलमा समान १४ अंकसहित क्रमश: शीर्ष तीन स्थानमा रहेका छन् । राजस्थानको १० अंक तथा हैदरावाद र चेन्नईको ८-८ अंक रहेको छ ।

प्रकाशित मिति: : 2020-10-27 07:59:00

प्रतिकृया दिनुहोस्