नोभेम्बर ३ आउँन ७ दिन : अमेरिकाको ४६औं राष्ट्रपति अझै अनिश्चित

अमेरिकी चुनावको फिनाले नोभेमेबर ३ आउन अब एक साता मात्र बाँकि छ। अर्को साताको आजकै दिन हुने फिनालेको अनौपचारिक परिणाम मध्यरातसम्ममा आइपुग्नेछ। भलै परिणामले औपचारिकता पाउँन अरू हप्तौ पनि लाग्न सक्छ। पछिल्लो राजनीतिक ध्रुवीकरण र छिनाझम्टी हेर्दा त्यसको छिनोफानो राष्ट्रपतिको अर्को कार्यकाल सुरू हुने दिन जनवरी २० सम्म पनि हुने हो कि  हैन? भन्ने आशंकाको वादल मडारिन थालेको छ।

अमेरिकमा चुनाव जित्न चाहिने २७० को इलेक्ट्रल कलेज मतको अंकगणित कस्को पक्षमा जाला? अझै पनि ढुक्कसँगले कसैले बताउन सकेका छैनन्। २०१६ को चुनावमा नराम्ररी चिप्लिएका राष्ट्रिय पोल मास्टरहरू डेमोक्रेटिक उम्मेद्वार जो बाइडनलाई औसतमा दुई अंकको अग्रता दिदा पनि उनको जीतको भविषयवाणी गर्न सकिरहेका छैनन्। उता, पोलहरूको पोलमा पछि परेका रिपब्लिकन उम्मेद्वार डोनल्ड ट्रम्पको बडी ल्याङ्ग्वेज त्यति सकारात्मक नदेखिए पनि उनले पनि जीतको आशा मारिसकेका छैनन्। 

मत संख्याको आधारमा बाइडन अघि हुने कुरामा अब कुनै शंका छैन। विगतको चुनावभन्दा पनि  धेरै मतदान भैरहेकोले उनको अग्रता हिलारीको भन्दा बढी हुने पनि लगभग निश्चित छ। तर, यति हुँदाहुँदै पनि इलेक्ट्रोल कलेज म्याप पनि उनको पक्षमा जाला त? अझै पनि ढुक्कसँगले भन्न सकिने अवस्था छैन। 

अन्तत : अमेरिकी चुनावको परिणाम अदालतले नै फैसला गर्ने हो कि जस्तो देखिएको छ। यसअघि सन् २००० को चुनावमा तत्कालिन रिपब्लिकन उम्मेद्वार जर्ज बुस र डेमोक्रेटिक उम्म्द्वार एल गोरको फैसला अदालती प्रक्रियाबाटै गरेको थियो। त्यतिबेला मतको हिसाबले भारि बहुमतले अगाडि रहेका गोर अदालती निर्णयको आधारमा फ्लोरिडाका २९ इलेक्ट्रल मत गुमाउँदा पराजय स्विकार्न बाध्य भएका थिए। अहिले त झन् फ्लोरिडा राष्ट्रपति ट्रम्पको नयाँ गृहराज्य हुन पुगेको छ र २०१६ मा ट्रम्पले जितेको यो राज्य यसपटक पनि फिक्का बैजनी रङमै रहेको छ। पोलमास्टरहरूले थोरै बढी नीलो रहेको बताए पनि अहिलेसम्म नीलो हुने हो कि रातो? यसै भन्न सकिने अवस्था छैन। 

कस्तो छ पछिल्लो अवस्था ?
चुनाव आउन सात दिन बाँकि रहेको अवस्थामा डेमोक्रेटका लागि १८३ पूर्ण सुरक्षित, लगभग सुनिश्चित २९ र डेमोक्रेटिकतिर ढल्केका ७८ इलेक्ट्रोल कलेज मत गरी २९० मत रहेको पोलहरूको पोल अर्थात् औसत पोलले देखाएको छ। तर, उता रिपब्लिकनको पक्षमा भने ८८ पूर्ण सुरक्षित, लगभग सुनिश्चित ३७ र रिपब्लिकनतिर ढल्केका ७८ इलेक्ट्रोल कलेज मत गरी १६३ मत रहेको देखाइएको छ।

यसैगरी ८५ इलेक्ट्रोल कलेज मत भने टसको अवस्थामा रहेको देखाइएको छ। अहिले टसमा आइअवा (६), ओहायो (१८), जर्जिआ (१६), नर्थ क्यारलाइना (१५), फ्लोरिडा (२९) र मेन (१) रहेका छन्। यसअघि २०१६ मा यी सबै मत ट्रम्पले जितेका थिए। अहिले यी सबै मत जित्दा पनि उनको पक्षमा २४८ मत मात्र हुन्छ। यो संख्या २७० को जादूगरी संख्यामा २२ कम हो। ट्रम्पलाई जित्नका लागि डेमोक्रेटिकतिर ढल्केका थप राज्य जित्नुपर्ने हुन्छ। त्यसका लागि उनले कसैगरी पनि पेन्सेल्भेनिया जित्नुपर्ने हुन्छ। यो जित्दा उनी २६८ मा मात्र पुग्छन्।

पछिल्लो अवस्थामा उनलाई रिपब्लिकनतिर ढल्केको टेक्ससको ३८ इलेक्रट्रोल कलेज मत जोगाउन नै हम्मे हम्मेको अवस्था छ भने फ्लोरिडाको २९ मत जोगाउन फलामको च्युरा चपाउनुजस्तै छ। 

यो स्थितिमा ट्रम्पका लागि इलेक्ट्रोल कलेज मतको २७० अंकगणित आफ्नो पक्षमा पार्न सहज छैन। उनका लागि विकल्पहरू सिमीत हुदै गएका छन्। तर, उनका प्रतिद्वन्दी बाइडनका लागि भने यो अंकगणितका लागि थप विकल्प रहेको देखिदैछ।

आखिर यो सबै अंकगणित मुलत: पोलहरूमा आधारित छ। २०१६ को पोलले झस्काएको हुनाले न बाइडन समर्थक पूरै पोलमा भर पर्न सकेका छन् न ट्रम्प समर्थक नै। बाइडन समर्थक ठान्छन्, २०१६ को पोलबाट पोलमास्टरहरूले पाठ सिकेका हुनाले उनीहरूले आफ्नो पेशा जोगाउन पनि यसपटक त्यस्तो जोखिम मलिरहेका छैनन्।' तर, ट्रम्प समर्थकहरू भने पोल मास्टरहरू ट्रम्पविरोधी भएकाले यसपटक पनि उनीहरूले त्यस्तै फेक पोल गरिरहेको ठान्छन्। त्यसैले उनीहरूमा अझै पनि जीतको आशा बाँकि नै छ।

यो समाचार लेखिरहेको बेला सात करोड अमेरिकीले मतदान गरिसकेको बताइएको छ। बम्पर संख्यामा भैरहेको यो मतदान बाइडनकै पक्षमा बढी भैरहेको स्वयं ट्रम्प समर्थक पनि स्विकार्छन्। यो बढ्दो मतदान पनि बाइडनको पल्ला भारी बनाउन सहायक रहेको अनुमान गरिदैछ। 

जे होस्, अहिलेसम्म पनि ४६औं अमेरिकी राष्ट्रपति को हुन्छ ? यसै भन्न सकिने अवस्था छैन। सात दिनपछि पनि त्यसको औपचारिक निर्णय हुन सक्दैन कि? अहिलेको आशंका त्यसतर्फ बढेको छ। 

पूर्णत सुरक्षित डेमोेक्रेटिक इलेक्ट्रोल मत: १८३
न्युयोर्क(२९), न्युजर्सी (१४), कनेक्टिकट (७), डेलावर, रोेड आइल्याण्ड(४), मेरिल्याण्ड(१०), म्यासाचुसेट्स(११), भर्मन्ट (३),  डीसी (३), क्यालिफर्निया (५५), ओेरेगन (७), वासिङ्टन (१२), इलिनोय (२०), हवाइ (४) र मेन (१)

लगभग सुनिश्चित डेमोेक्रेटिक इलेक्ट्रोल मत: २९
कोलोराडो (९), न्यु मेक्सिको (५), भर्जिनिया (१३) र मेन (२)

डेमोक्रेटिकतिर ढल्केका इलेक्ट्रोल मत: ७८ 
एरिजोना (११), नभाडा (६), न्यु ह्याम्पसर (४), पेन्सेल्भेनिया (२०), मिनिशोटा (१०), मिशिगन (१६), विस्कन्सन (१०) र नेभादा (१)

पूर्णत सुरक्षित रिपब्लिकन इलेक्ट्रोल मत : ८८
आइडाहो (४), इण्डियाना (११), वोयमिङ (३), नर्थ डाकोटा (३), साउथ डाकोटा (३), ओक्लोहामा (७), अर्कान्सास (६), टेनेसी (११), मिसिसिपी (६), अलावामा (९), लुजियाना (८), केन्टकी (८), वेष्ट भर्जिनिया (५),  र नेभादाका ४ 

लगभग सुनिश्चित रिपब्लिकन इलेक्ट्रोल मत: ३७
कान्सास (६), मिजौरी (१०), साउथ क्यारलाइना (९), उटाह (६), मोन्टाना (३) र अलास्का (३)

रिपब्लिकनतिर ढल्केका इलेक्ट्रोल मत : ३८
टेक्सास (३८)

टस रहेका ब्याटल ग्राउण्ड राज्यको इलेक्ट्रोल मत: ८५
आइअवा (६), ओहायो (१८), जर्जिआ (१६),  नर्थ क्यारलाइना (१५), फ्लोरिडा (२९) र मेन (१)

प्रकाशित मिति: : 2020-10-28 03:24:00

प्रतिकृया दिनुहोस्