कोरोना भन्दा डरलाग्दो आइसोलेशन ! संक्रमित भन्छन्- त्यहाँ जाँदै नजानुहोस्

इटहरी : १३ दिन इटहरीको आइसोलेशनमा बिताएका रामधुनी-४ का सरोज खतिवडाका लागि आइसोलेशन जेल झै भयो। न राम्रो खाना, न राम्रो व्यवहार। ‘आइसोलेशन अस्पतालजस्तै हुनुपर्ने हो’, उनी भन्छन्, ‘तर यहाँ त जेलभन्दा पनि समस्याग्रस्त छ।’ 

प्रदेश सरकारको सहयोगमा इटहरी उपमहानगरपालिकाले व्यवस्थापन गरिरहेको इटहरी रंगशालाको आइसोलेशनमा कुनै पनि स्वास्थ्य मापदण्ड पुरा नगरी लापरवाही गरिएको संक्रमितको आरोप छ। ‘खानादेखि सरसफाई अनि स्वास्थ्य उपचारसम्म भद्रगोल छ’, खतिवडाले थपे।  

आइसोलेशनमा बसेर फर्किएकाहरु त्यहाँ नजान सबैलाई सल्लाह दिन्छन्।  ‘संक्रमण भए पनि आइसोलेशन जाँदै नजानुस्’, उनले आइसोलेशनको पीडा सम्झदै भने। 

इटहरीका अर्जुन शर्माको ११ दिन लामो आइसोलेशन बसाई अत्यन्त खराब रह्यो। ‘म बसुन्जेल कुहिएको आलु र फर्सीको तरकारी खुवाइयो,’ उनले भने, ‘पछि सबैले विरोध गरेपछि बल्ल अलिअलि साग दिइयो।’

खानेकुराकै कारण बिरामी हुने अवस्था रहेको उनको भनाइ छ। बाहिरबाट प्याकेटमा लगिएको खानेकुरा स्तरीय नभएको धेरै संक्रमितको गुनासो छ। कतिपयले त आफैले खाना मगाएर खाने गरेका छन्। तर बाहिरबाट आफन्तले लगेको खाना पनि प्याकिङ खोलेर सेनाले जाँच गर्ने गरेको छ। 

प्रकाशित मिति: : 2020-10-28 07:56:00

प्रतिकृया दिनुहोस्