असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आजदेखि सञ्चालनमा आउँदै

कोरोना भाइरसका कारण असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आज (बुधबार)देखि सञ्चालनमा आउने भएको छ ।

बाढी र पहिरो जोखिमका कारण तीन महिनादेखि बन्द भएको नाका १९ असोजमा सञ्चालनमा आएको थियो, तर चीनतर्फ गएर सामान लोड गर्न खटिएका ७ जना नेपाली श्रमिकमा कोरोना देखिएपछि सञ्चालनको दोस्रो दिनमै चीनले सीमा नाका बन्द गरेको थियो ।

तर चिनियाँ अधिकारीहरुबाट आजदेखि नेपाली भन्सार यार्डसम्म सामान पठाउन सुरु गरेकाे सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । 

‘साँझसम्म तातोपानीमा चीनतर्फबाट सामान ल्याइदिने जानकारी ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले हामीलाई गराएको छ। चिनियाँ अधिकारीहरुसँग भएको समझदारीअनुसार नेपालले नाकामा तयार पारेको आइसोलेसन यार्डमा चिनियाँ ट्रकले माल वस्तु ल्याएर छोडेर जानेछ,’ प्रमुख जिल्ला अधिारी ढकालले भने ।

उनका अनुसार नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने आइसोलेटेड ठाउँको मार्किङ्ग गर्ने काम सकिएको छ।

नेपाली यार्डमा रहेको आइसोलेटेड ठाउँमा चिनियाँले ट्रक छोडर जाने र त्यहाँबाट नेपालीले सामान लोड गर्ने गरी तयारी गरिएको छ ।

प्रकाशित मिति: : 2020-10-28 12:25:00

प्रतिकृया दिनुहोस्