बेंगलोरलाई ५ विकेटले हराउँदै मुम्बई प्लेअफमा

साविक विजेता मुम्बई इन्डियन्सले युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल)काे प्ले अफमा स्थान पक्का गरेको छ।

रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बईले प्ले अफमा स्थान पक्का गरेको हो।

बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो।

मुम्बईको जितमा सूर्यकुमार यादवले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले। यादवले ४३ बलमा १० चौका र ३ छक्का प्रहार गरे। 

यस्तै इशान किसनले २५ रन जोडे। किशनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

क्विनटन डी ककले १८ रन जोडे। हार्दिक पाण्डय १७ रनमा आउट हुँदा कुर्नाल पाण्डयले १० रन बनाए।

युजभेन्द्र चहलले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए। मोहम्मद शिराजले ३.१ ओभरमा २८ रन खर्चेर २ विकेट लिए। एक विकेट  क्रिस मोरिसको नाममा रह्यो।

यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

बैंगलोरका लागि ओपनर देबदुत पडीकलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले। पाडिक्कलले ४५ बलमा १२ चौका र १ छक्का प्रहार गरे। 

यस्तै जोस फिलिपले ३३ रन जोडे। फिलिपेले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे। पाडिक्कल र फिलिपेबीच ७१ रनको साझेदारी भएकाे थियाे। 

यता एबी डी भिलियर्सले १५ रन बनाए। गुर्किरात सिंहले अविजित १४ रन जोड्दा वासिङ्गटन सुन्दर १० रनमा अविजित रहे। कप्तान विराट कोहली ९ रनमा आउट भए।

मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर ३ विकेट लिए। 

राहुल चहर, ट्रेन्ट बोल्ट र कप्तान काइरन पोलार्डको नाममा एक एक विकेट रह्यो। 

यस जितसँगै मुम्बईले बैंगलोरसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ। यस अघिको भेटमा बैंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो।

जितपछि मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ। आठौं जित निकालेको मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ।

बैंगलोरले भने १२ खेलमा १४ अंक जोडेको छ। बैंगलोर दोस्रो स्थानमा रहेको छ।

बेंगलोरले अव शनिवार सनराइजर्स हैदराबादसँग खेल्ने छ। मुम्बईले शनिबारनै दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित मिति: : 2020-10-29 06:54:00

प्रतिकृया दिनुहोस्