१०१ बर्षका ओगनाथ नेपालसँग भलाकुसारी, के हो दीर्घजीवनको रहस्य ?

अनलाइनखबर

काठमाडौँ
तस्बिर : अनलाइनखबर

नेपालीको औसत आयु ७२ बर्ष । यो उमेर पार गरेर १०१ बर्षमा हिँडिरहेका छन्, ओगनाथ नेपाल । उनी वि.सं. १९७७ सात कार्तिक ९ गते सिन्धुपाल्चोकको मेलम्ची–५ सिन्धुकोटमा जन्मिएका हुन् ।

ओगनाथ नेपाल एउटा कालखण्डको जीउँदो साक्षी हुन् । उनको समय कस्तो थियो ? चलचलन के थियो ? खानपान, पहिरन कस्ता थिए ? यावत् कुरा हाम्रो निम्ती रुचीकर हुनसक्छ । यसै सन्दर्भमा चिरञ्जिवी आचार्यले ओगनाथ नेपालसँग भलाकुसारी गरेका छन् ।

एक सय वर्ष पूरा हुनुभयो, कस्तो महसुस भइरहेको छ ?

अँ भएछु । नातिहरुले सुनाएपछि बल्ल थाहा पाएँ । यस्तै छ, राम्रोसँग भेउ पाउँदिनँ । आफू सय वर्ष पूरा भएको पनि अरुले सुनाउनुपर्छ । कस्तो महसुस हुनु, यस्तै छ सकुञ्जेल काम गर्ने, काम गर्न सक्न छाडेपछि सकेसम्म आफ्नो कामचाहिँ आफैँ गर्ने र त्यो पनि नसके त उही नारायण (भगवान्) सम्झने बस्ने । समय नआउञ्जेल त्यही हो, आफूले भनेर हुने कुरा होइन क्यारे ।

एक सय वर्ष वर्ष पूरा हुनुभयो, तपाइँले त पहिलाको र अहिलेको समाज आफ्नै आँखाले नियाल्ने मौका पाउनुभयो । कस्तो थियो त्यो बेलाको समाज ?

समाज परिवर्तन त समयले गराउने परिवर्तन हो । सधैं अलिअलि परिवर्तन त भइरहन्छ । तर, आफ्नो लागि त आफैंले गर्नुपर्छ । समाजका ठूलाबडाहरुका लागि हो शासन परिवर्तन भने पनि राजनीतिक परिवर्तन भने पनि हामीजस्ता सर्वसाधारणका लागि त आफैंले हाडछाला जोत्न सक्यो भने खायो नत्र भोकै बस्यो, दुःख पाइराख्यो । पहिला पनि नहुनेले दुःख पाउँथे र ठूलाले शोषण गर्थे, अहिले पनि त्यस्तै हो । मैले जानेदेखि धेरै किसिमको शासन व्यवस्था आयो र गयो पनि तर मलाई यी कुनै पनि सत्ता परिवर्तनले केही भएको छैन ।

अब अरु सडक आउने, गाडी आउने बाहिरका सामानहरु आउनेजस्ता परिवर्तन चाहिँ भए । मैले गाडी देखेकै ठूलो भइसकेपछि काठमाडौं जाँदा हो । अहिले त यी….. घरकै आँगनमा ५-७ ओटा आइकल (मोटरसाइकल) छ ।

प्रकाशित मिति: : 2020-10-29 08:31:00

प्रतिकृया दिनुहोस्