सेयर बजारमा ३ अर्बभन्दा बढीको कारोबार

सेयर बजारमा अल्पकालीन कारोबारी हावी भएका छन्। नेप्से सूचक १.७८ अंकले घटेर १६४५.६७ विन्दुमा अडिएको छ। १९२ कम्पनीको ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

विशेषगरी बैंकिङ सूचकमा बेस्सरी तेजी देखिएको थियो। यसरी बढेको बजारमा अल्पकालीन कारोबारी हावी हुँदा बिहीबार फेरि सूचक सामान्य दबाबमा परेको छ। सूचकले केही दबाबको सामना गरे पनि खरिदबिक्री रकममा भने उत्साह आएको छ।

कारोबार रकममा तेजी देखिएकाले बजारले फेरि गति लिने अपेक्षा गरिएको छ। बेस्सरी बढेको बजारमा केही करेक्सन आउनु स्वभाविक हो। बजार तलमाथि गर्दै अघि बढ्ने हो। समग्रतामा नेप्सेको गति कतातिर जान्छ भन्ने प्रमुख पक्ष हो। कोरोनाको अवधिमा पनि बजार क्रमशः विस्तार हुँदै आएको छ।

लगानीका अन्य क्षेत्रहरु संकुचित हुँदा सर्वसाधारण लगानीकर्ता सेयर बजारतिरै आकर्षित भएका छन्। अहिले बैंकिङ क्षेत्रमा प्रचुर लगानीयोग्य रकम (तरलता) रहेको छ। बढ्दो तरलताले ब्याजदर सस्तो भएको छ। ब्याज घटेकाले सेयर बजारमा आम लगानीकर्ताको थप आकर्षण बढिरहेको छ। 
 
सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। आम लगानीकर्ता बजार सुधार हुन्छ भन्नेमा आश्वस्त हुन आवश्यक छ। बजार तलमाथि हुँदै अघि बढ्ने हो। लगानीकर्ताले कम्पनीहरुको समग्र वित्तीय अवस्था अध्ययन गर्नुपर्छ। विशेषगरी नाफा, रिजर्भ, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात लगायतलाई ख्याल गर्नुपर्छ। कम्पनीको व्यवस्थापन, सञ्चालक समितिमा पनि ध्यान दिनुपर्छ। 
 
१ करोड कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ। १२ समूहको कारोबार भएकामा ६ समूहका सूचक बढेका छन् भने बाँकी ६ वटा तल झरेका छन्। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ३९.८९ अंकले बढेको छ। वाणिज्य बैंक समूहको सूचक ६.२७ अंकले घटेको छ।

प्रकाशित मिति: : 2020-10-29 15:41:00

प्रतिकृया दिनुहोस्