चेन्नईसँग कोलकाताकाे लज्जास्पद हार, प्ले अफको सम्भावना कठिन

इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ।

बिहिबार राती सम्पन्न खेलमा कोलकाता चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भएको हो। योसँगै कोलकाताको प्ले अफको सम्भावना कठिन बनेको छ। 

जितका लागि १ सय ७३ रन पछ्याएको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।

चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ५३ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

रविन्द्र जडेजा ३१ रनमा अविजित रहदा साम करण १३ रनमा अविजित रहे। अकमलेश नगरकोटीले फ्याँकेको अन्तिम दुई बलमा जडेजाले दुई छक्का प्रहार गर्दै चेन्नईको जित पक्का पक्का गराए। जडेजाले ११ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

अम्बाती रायुडु ३८, शेन वाटसन १४ र महेन्द्रसिंह धोनी १ रनमा आउट भए। 

कोलकाता प्याट कमिन्सले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए। बरुण चक्रवर्तीले ४ ओभरमा २० रन खर्चेर २ विकेट हात पारे।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रन बनायो। 

कोलकाता ओपनर नितेश राणाले सर्वाधिक ८७ रनको योगदान दिए। उनले ६१ बलमा १० चौका र ४ छक्का प्रहार गरे।

दीनेश कार्तिक १० बलमा ३ चौका सहित २१ रनमा अविजित रहे। 

सुभमन गिल २६, इयान मोर्गन १५, रिन्कु सिंहले ११ र सुनिल नारिन ७ रनमा आउट भए।

करण शर्माले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए। मिचेल सान्टनारले ३ ओभरमा ३० रन खर्चेर १ विकेट लिए। रविन्द्र जडेजाले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिए। एनगिडीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए। 

यो हारसँगै कोलकाताको प्ले अफको सम्भावना कठिन बनेको छ। अब कोलकाता अन्य टोलीमा निर्भर रहनुपर्ने हुन्छ। कोलकाताले अन्तिम खेल राजस्थान रोयल्ससँग खेल्ने छ। 
 

प्रकाशित मिति: : 2020-10-30 06:53:00

प्रतिकृया दिनुहोस्