राजनीतिक स्टन्ट कि षड्यन्त्र : ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रचारबाजी कसले गर्‍यो ?

रातोपाटी

काठमाडौँ
तस्बिर : रातोपाटी

फणिन्द्र नेपाल 

स्थायी समिति बैठकका निर्णय कार्यान्वयनमा बेवास्ता गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मनमुटाव देखिनुका साथै उनीहरुबीचको दुरी बढ्न पुगेको छ ।

नेताहरुबीच दुरी घटाउने प्रयास पनि जारी छ तर दुरी घट्न नदिने स्वार्थ समूहको प्रयास पनि भित्रभित्रै भइरहेको पार्टीका नेताहरु बताउँछन् । दुई अध्यक्षबीच दुरी बढेको बेला स्वार्थसिद्ध गर्न पल्केका केही सीमित तत्वहरु नेताहरुबीचको दुरी घट्न नदिन विभिन्न स्टन्टबाजी गर्न लागिपरेको सो पार्टीकै शीर्ष नेताहरु बताउँछन् । पछिल्लो समय कथितरुपमा प्रधानमन्त्री ओलीविरुद्ध ल्याउन लागिएको भनिएको ‘अविश्वासको प्रस्ताव’ लाई नेकपाको एकता चाहने नेता–कार्यकर्ताहरुले त्यही सीमित स्वार्थी समूहले आफ्नै स्वार्थअनुरुप चलाएको ‘स्टन्टबाजी’ का रुपमा टिप्पणी गरेका छन् ।

‘अयोग्यता छोप्न यस्ता आधारहीन हल्ला गरेरै भए पनि केही समय टिक्न सकिन्छ भनेर फेरि थालिएछ अर्को हल्ला,’ नेकपाकी केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले ट्वीट गर्दै लेखेकी छन्, ‘अनि आफ्नो जिम्मेवारी छाडेर मोर्चा कस्न राजधानी छिरेछन् क्षेत्रपालहरु ।’

नेकपामा सहमति गर्ने तर कार्यान्वयन नगर्ने रोग नयाँ होइन, जसले पटक–पटक पार्टीलाई संकटको दलदलमा पु¥याएको छ । तर यतिन्जेलसम्म ‘सहमति पालना गर्ने सहमति’मा पुग्दै सम्भावित दुर्घटना टर्दै आएको भए पनि सहमतिकै औचित्यमा प्रश्न उठ्ने अवस्था आउन थालेपछि सिंगो पार्टीको भविष्य के होला भन्ने चिन्ता एकता पक्षधर नेता–कार्यकर्तामा व्याप्त हुनु स्वाभाविक नै हो ।

विगतका सहमति र प्रतिबद्धता कार्यान्वयनमा ओलीले पटकपटक बेवास्ता गरेको भन्दै प्रचण्डले ओलीसँगको छुट्टै भेटघाटमा चासो देखाउन छाड्दा ‘स्टन्टबाजी’ गर्नेहरुले सुनौलो मौका भेटेको नेकपाका एक शीर्ष नेता बताउँछन् ।

प्रकाशित मिति: : 2020-10-30 15:54:00

प्रतिकृया दिनुहोस्