सरकारको नाममा रहेको काठमाडौँको मस्जिदको जग्गा कसरी पुग्यो व्यक्तिको नाममा ?

रातोपाटी

काठमाडौँ
तस्बिर : रातोपाटी

शम्भु दंगाल

काठमाडौँको मुटु सुन्धारामा रहेको मुसाफिर मादिनी मस्जिदमा गत साता बिहानै डोजर लगेर तोडफोड गरियो । मस्जिदमा सुतेका महिला बालबालिका आत्तिदै उठे । दसैँको मध्य समय अर्थात् अष्टमीका दिन सारा नेपालीहरु घर–घरमा ब्यस्त भएको र सरकारी कार्यालयहरु पनि बन्द भएको मौका पारेर डोजर चलाइएपछि यस घटनालाई मुस्लिम समुदायले आफूमाथिको अन्यायको रुपमा लिएका छन् ।

डोजर आक्रमणबाट मस्जिदको अगाडिको भागमा क्षति पु-याइएको थियो । घटनापछि एकजुट भएका मुस्लिम समुदायले अहिले  मस्जिदको भत्काएको अगाडिको भागको धमाधम निर्माण थालेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष चीनकाजी महर्जन समेत भूमाफियासँग मिलेर मस्जिद भत्काउन आएको मुसाफिर मादिनी मस्जिद व्यवस्थापन समितिका सचिव नजिबुल्लाह अन्सारीले आरोप लगाए ।

उनले भने–‘केटाकेटी महिला सबै सुतिरहेका बेला एक्कासी बिहानै डोजर लगाएर भत्काउने प्रयास गरियो । प्रहरी र स्थानीय मिलेर उनीहरुलाई भगाउन सफल भयौँ ।’

गत बिहीबार साँझ पनि वडाध्यक्ष चीनकाजी मर्हजन सहितको एक समूह काम रोक्न आएको उनले बताए । सचिव अन्सारीले भने, ‘सबैभन्दा पहिला त हामीले धार्मिक सद्भाव कामय गर्ने हो । हामी सबै मिलेर भूमाफियालाई देश निकाला गर्न आवश्यकता छ । भूमाफियाले यसरी चलखेल गरिरहे हामीले हाम्रो सम्पदा बचाउन सक्दैनौँ ।’

जग्गाको लालपूर्जामा आफ्नो नाम भएका जुजुकाजी मर्हजन र रत्नकाजी महर्जनले चौँथो पटक मस्जिदमा हमला गरेको उनले बताए । पटक–पटक हमला भएपछि मस्जिदको अगाडिको भाग अहिले आरसिसी पिलर र ढलान गरेर पक्की बनाउन थालिएको छ ।

प्रकाशित मिति: : 2020-10-31 15:47:00

प्रतिकृया दिनुहोस्