हैदराबादसँग बेंगलोर पराजित, प्ले अफ यात्रा पर्ख र हेर

सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोरलाई  ५ विकेटले पराजित गरेको छ।

बैंगलोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभरमा १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्‍यो।

हैदराबादको जितमा ऋद्धिमान शाहले ३९ रन जोड्दा मनिस पाण्डेले २६ रन जोडे। शाहले ३२ बलमा ४ चौका र १ छक्का हिर्काए। 

यस्तै जासन होल्डरले अविजित २६ रन बनाए।

यता डेभिड वार्नर ८, केन विलियम्सन ८ र अभिषेक शर्मा ८ रनमा आउट भए।

बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए। वासिंगटन सुन्दर र नाभदिप शैनीले १र१ विकेट लिए।

यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २० रन बनाएको थियो। 

बैंगलोरका लागि जोस फिलिपेले सर्वाधिक ३२ रन जोडे। यस्तै एबी डी भिलियर्सले २४ रन जोड्दा वासिंगटन सुन्दरले २१ रन बनाए।

गुर्किरात सिंहले अविजित १६ रन बनाए। कप्तान विराट कोहली ७ रनमा आउट हुँदा देबदुत पडिकलले पनि ५ रन मात्र बनाउन सके।

सन्दीप शर्माले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए। जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। टि नटराजन, राशिद खान र शहबाज नदीमले एक एक विकेट लिए।

जितसँगै हैदराबाद तालिकाको चौंथो स्थानमा उक्लिएको छ। हैदराबादले १३ खेलमा १२ अंक जोडेको छ।

यस्तै हैदराबादले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ। हैदराबादले अन्तिम खेल मंगलबार मुम्बई इन्डियन्ससँग खेल्नेछ।

मुम्बईले भने क्वालिफायरमा स्थान पक्का गरिसकेको छ। 

यो हारसँगै  १३ खेलमा ७ जितसहित १४ अंक जोडेको बैंगलोरलाई पनि प्ले अफ पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ।

बैंगलोर दोस्रो स्थानमा रहेको छ।

बैंगलोरले अन्तिम खेलमा सोमबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ। प्ले अफमा पुग्न दुवैलाई जित्नै पर्ने हुन्छ।

प्रकाशित मिति: : 2020-11-01 07:56:00

प्रतिकृया दिनुहोस्