राजस्थान आइपीएलबाट बाहिरियो, कोलकाताकाे प्ले अफमा पुग्ने झिनाे सम्भावना

राजस्थान रोयल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) बाट बाहिरिएको छ।

आइतबार राती  कोलकातासँग ६० रनले पराजित हुँदै राजस्थानलिग चरणबाट बाहिरिने तेस्रो टोली बनेको हो।

कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३५ रन बनाए। उनले २२ बलमा ४ चौका र १ छक्का प्रहार गरे।  

राहुल टेवाटिया २७ बलमा २ चौका र १ छक्का सहित ३१ रनमा क्याच आउट भए।

यता बेन स्टोक्स १८ रनमा पेभिलिएन फर्किएका थिए। स्टोक्सले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे।

श्रेयस गोपालले अविजित रहदै २३ रन बनाए।

प्याट कमिन्सले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। बरुण चक्रबर्तीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए। शिवम माभीले ४ ओभरमा १ मेडन सहित १५ रन खर्चेर २ विकेट हात पारे। कमलेश नगरकोटीको नाममा एक विकेट रह्यो।

यसअघि  दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन बनायो।

कोलकाताको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले। मोर्गनले ३५ बलमा ५ चौका र ६ छक्का प्रहार गरे।

यस्तै राहुल त्रिपाठीले ३९ रन जोड्दा सुभमन गिलले ३६ रन बनाए। 
त्रिपाठी र गिलले ७२ रनको साझेदारी गरेका थिए।

त्रिपाठीले ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यता  गिलले २४ बलमा ६ चौका प्रहार गरे।

आन्द्रे रसेलले  ११ बलमा ३ छक्का र १ चौकासहित २५ रन बनाए। प्याट कमिन्स ११ बलमा १ छक्का सहित १५ रनमा क्याच आउट भए।

स्पिनर राहुल टेवाटियाले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। जोफ्रा आर्चरले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए। स्पिनर श्रेयस गोपालले ३ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए। कार्तिक त्यागीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए।

जितसँगै कोलकाताले १४ खेलमा १४ अंक जोडेको छ। र, कोलकाताले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ।

कोलकाता तालिकाको चौंथो स्थानमा समेत उक्लिएको छ। तर, कोलकाताको प्ले अफ यात्रा भने अरुको खेलमा निर्भर हुनेछ।

कोलकाताले प्ले अफमा स्थान बनाउन मंगलबार सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्ससँगको खेलको नतिजा पर्खिनु पर्छ। उक्त खेलमा हैदराबाद विजयी भए नेट रन रेटको आधारमा निर्धारण हुने छ। हैदराबाद पराजित भएमा कोलकाता प्ले अफमा पुग्ने छ।

यदी हैदराबादले जितेमा नेट रन रेटको आधारमा प्ले अफ पुग्ने टोलीको तय हुनेछ।

यस्तै सोमबार हुने रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सबीचको खेलले समेत यस समीकरणका लागि महत्वपूर्ण रहनेछ।

यस अघि चेन्नई सुपर किङ्स र किङ्स इलाभेन पन्जाब प्ले अफ होडबाट बाहिरिसकेको छ।

प्रकाशित मिति: : 2020-11-02 07:47:00

प्रतिकृया दिनुहोस्