बाबरको अर्धसतकपछि पाकिस्तानलाई एकदिवसीय उपाधि

पाकिस्तानले दोस्रो एकदिवसीयमा जिम्बाबेलाई ६ विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टोमा पारेको छ। तीन वटा एकदिवसीय शृंखलाअन्तर्गत पाकिस्तान २ मा विजयी भइसकेको छ। 

दोस्रो एकदिवसीय अन्तर्गत टस जितेर पहिलो ब्याटिङ गरेको जिम्बाबेले ४५ दशमलव १ ओभरमा २ सय ६ रन बनाएर सबै विकेट गुमाएको थियो। 

प्रत्युत्तरमा पाकिस्तान ३५ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै विजयी भयो। कप्तान बाबर आजमले अविजित ७७ रन बनाए। इमाम–उल–हकको नाममा ४९ रन रहयो। 

जिम्बाबेको सुरुवात राम्रो भएन। ५९ रन हुँदा ३ विकेट गुमाइसकेको थियो। कप्तान चामु चिभाभा, क्रेग इरविन र चारीले खासै केही गर्न सकेनन्। 

विकेटकिपर ब्याट्सम्यान बे्रन्डन टेलरले सान विलियम्ससँग मिलेर चौथो विकेटका लागि गरेका ६१ रनको साझेदारी नै सबैभन्दा ठूलो रहयो। टेलर ३६ रनमा आउट भए। 

विलयम्सले एकदिवसीयमा ३२ औं अर्धसतक पुररा गर्ने क्रममा ७५ रन बनाए। उनले १ छक्का र १० चौका प्रहार गरेका थिए। 

पाकिस्तानका लागि इफ्तियार अहमदले ५ विकेट लिए। मोहम्मद मुसाको नाममा २ विकेट रह्यो। 

हरिस रउफ, फहिम असरफ र इमाद वसिमले १–१ विकेट बाँडे। 
पाकिस्तानका लागि इमाम र आबिद अलीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरे। आबिदले २२ रन बनाए। 

बाबरको एकदिवसीयमा १६ औं अर्धसतक थियो। उनले ७ चौंका र २ छक्का प्रहार गरेका थिए। तेस्रो एकदिवसीय ३ नोभेम्बरमा हुनेछ।

प्रकाशित मिति: : 2020-11-02 07:59:00

प्रतिकृया दिनुहोस्