नेभाडा जिते बाइडन अमेरिकी राष्ट्रपति : सबैको आँखा नेभाडामाथि

डा. प्रदीप भट्टराई

कान्सास सिटी, अमेरिका

अमेरिकाको राष्ट्रपति चुनावको पल्ला बाइडेनको पक्षमा भारी हुने संकेत मिलेको छ। मिचिगन (१६), एरिजोना (११), विस्कन्सन (१०) र नेब्रास्का सेकेन्ड कंग्रेसनल डिस्ट्रिक्ट (१) उनको पक्षमा जाने प्रक्षेपण भएपछि बाइडनको पल्ला भारी भएको हो। 

अन्तत: अमेरिकाको ४६औं राष्ट्रपति को बन्ने भन्ने निर्णय नभाडाको ६ इलेक्ट्रोल कलेज मतमा पुगेर अडिएको छ। २०१६ मा हिलारी क्लिन्टनले जितेको नभाडाको ६ इलेक्ट्रोल कलेज मत आफ्नो पक्षमा पार्ने बितिकै बाइडनले २७० को जादूगरी आँकडा छुनेछन्। र, सम्भवत:  केही अदालती झमेला व्यहोरेपछि अन्तत: उनी अमेरिकाको ४६औं राष्ट्रपति बन्नेछन्। 

ट्रम्प समर्थक फक्स न्युजले बाइडेनको पक्षमा २६४ मत प्रक्षेपण गरिसकेको छ भने ट्रम्पको पक्षमा २१४ मत मात्र प्रक्षेपण गरेको छ। दक्षिणपन्थी राजनीतिक पण्डाहरू पनि अब अदालतले मात्र ट्रम्पलाई राष्ट्रपति बनाउन सक्ने झिनो आशा बाँकि रहेको बताउन थालेका छन्। 

अमेरिकाको ४६औं राष्ट्रपति को बन्ने त्यसको निर्णय नभादाको ६ इलेक्ट्रोल कलेज मतमा पुगेर अडिएको छ। २०१६ मा क्लिन्टनले जितेको नभादाको ६ इलेक्ट्रोल कलेज मत आफ्नो पक्षमा पार्ने बितिकै बाइडनले २७० को जादूगरी आँकडा छुनेछन्। र, सम्भवत:  केही अदालती झमेला व्यहोरेपछि अन्तत: उनी अमेरिकाको ४६औं राष्ट्रपति बन्ने सम्भावना बढेर गएको छ। 

नेभाडामा बाइडन र ट्रम्पबीच तीब्र प्रतिस्पर्धा छ। ७५ प्रतिशत मत गन्दा बाइडनको पक्षमा ४९.३ प्रतिशत र ट्रम्पको पक्षमा ४८.७ प्रतिशत मत गएको छ। यहाँ बाइडेन ७ हजार ६४७ मतले मात्र अगाडि छन्।

नभाडा जुवाको राजधानी लसभेगास भएको राज्य हो। १७ काउन्टीको यो राज्यमा आधाभन्दा बढी मतदाता रहेको क्लार्क काउन्टी र दोस्रो ठूलो वासु काउन्टी निर्णायक छन्। यी दुबै काउन्टी डेमोक्रेट गढ मानिन्छन्। यसअघि २०१६ को निर्वाचनमा यी दुई काउन्टीमा हिलारी क्लिन्टन बिजयी भएकी थिइन् भने बाँकि १५ मा डोनल्ड ट्रम्प विजयी भएका थिए। तर, दुई काउन्टी मात्र जित्दा पनि हिलारी ४७.९ प्रतिशत मत ल्याएर विजयी भएकी थिइन्। उनका प्रतिद्वन्दी ट्रम्पको पक्षमा १५ काउन्टी जाँदा पनि उनले ४५.५ प्रतिशत मत मात्र ल्याएका थिए। त्यसअघि २००८ मा १३.६ प्रतिशत र २०१२ मा ६.७ प्रतिशतको भारी अन्तरले बराक ओबामाले नेभाडा जितेका थिए। 

सन् १९९२ र ११९६ मा नीलो भएको यो राज्य २००० र २००४ मा भने रातो भएको थियो। त्यसयता नीलो रहदै आएको यो राज्य यसपालि के हुने हो ?, यसै भन्न सकिने स्थिति छैन। तर, पनि दुबै रङका राजनीतिक पण्डितहरू लगभग एउटै स्वरमा यसपटक पनि नेभाडा नीलो हुने र यही ६ मतले बाइडन विजयी हुने बताउन थालेका छन्। 

बाइडनले यो नीलो राज्य जोगाउने बित्तिकै ट्रम्पले अग्रता लिएका तर निर्णय हुन बाँकि रहेका पेन्सेल्भेनिया, जर्जिया, अलास्का र नर्थ क्यारलाइना जित्दा पनि उनको पक्षमा २६८ इलेक्ट्रोल कलेज मत मात्र हुन्छ। यो मत उनलाई राष्ट्रपति बनाउन २ मतले कम हो ।

सन् २०१६ मा ३०६ मत पुर्याएका ट्रम्पले यसपटक मिचिगन (१६), एरिजोना (११), विस्कन्सन (१०) र नेब्रास्का सेकेन्ड कंग्रेसनल डिस्ट्रिक्ट (१) गरी ३८ मत गुमाइसकेका छन्। उनका ३८ मत रहेका तीन राज्य र एक कंग्रेसनल डिस्ट्रिक्ट उल्टिदा पनि डेमोक्रेटले २०१६ मा जितेका कुनै पनि राज्य उल्टाउन सकेका छैनन्। यही आधारमा पनि २०१६ मा नीलो भएको नेभाडा उनले उल्टाउन नसक्ने अनुमानले बल पाएको हो।

तर, यसैबीच ट्रम्पले आफ्नो विजय घोषणा गर्दै बुधबार विहानदेखि गणना भएको कुनै पनि मत र त्यसको परिणाम नमान्ने बताइसकेका छन्। उनको यो घोषणालाई उनका 'भक्तहरू'ले कर्तल ध्वनिका साथ समर्थन गरे पनि रिपब्लिकन पार्टीका अगुवाहरूले नै निको मानेका छैनन्। आफ्नो जीतको सम्भावना बाँकि रहेकै बेला यसो भन्नु हतार भएको उनीहरूको प्रतिक्रिया छ। 

उता, डेमोक्रेटिक पार्टीका राष्ट्रपति प्रत्यासी जो बाइडनले भने अन्तिम परिणाम पर्खन सबैलाई आग्रह गरेका छन्। उनले आफ्नो जीत हुने निश्चित भए पनि अहिले नै घोषणा गर्नु स्वेच्छाचारी हुने बताएका छन्। 

 

प्रकाशित मिति: : 2020-11-05 04:02:00

प्रतिकृया दिनुहोस्