राष्ट्रिय फुटबल टोली ढाका प्रस्थान

बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज (बिहीबार) ढाका प्रस्थान गरेको छ।

२५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली हिमालयन एयरलाइन्समार्फत ढाका प्रस्थान गरेको हो।

नेपालले बंगलादेशसँग यही नोभेम्बर १३ र १७ तारिखमा ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसअघि नेपाली टोली करिब एक साता होटेल क्वारेन्टाइनमा बस्नेछ। त्यसपछि कोरोना परीक्षण हुनेछ र नेगेटिभ रिपोर्ट आएपछि नेपालले प्रशिक्षण गर्ने अवसर पाउनेछ।

बंगलादेश जाने टोलीमा २५ खेलाडी र ९ जना अफिसियल तथा पदाधिकारी छन्। 

यसपटक ८ नयाँ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। ७ सिनियर खेलाडीलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरुले माैका पाएका हुन्।

टोलीका मुख्य सदस्य रोहित चन्द चोटका कारण टोलीमा समावेश छैनन्।

नेपाली टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, बिमल राना, बिशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की र दिलेन लोक्ताम छन्।

यसैगरी जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्वे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ पनि टोलीमा छन्।

मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा टोलीको प्रशिक्षणको जिम्मेवारी बालगोपाल महर्जनले सम्हालेका छन्। प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा विकास मल्ल रहेका छन्।

प्रकाशित मिति: : 2020-11-05 12:10:00

प्रतिकृया दिनुहोस्