अमेरिकामा मतगणना जारी : ट्रम्पका २ मुद्दा खारेज, बाइडनको पल्ला भारी

डा. प्रदीप भट्टराई

कान्सास सिटी, अमेरिका

अमेरिकाको चुनावी मत गणना जारी छ। मतगणनाको पछिल्लो आँकडाले राष्ट्रपति ट्रम्प एक कार्यकालको राष्ट्रपतिमा सिमीत हुने संकेत देखिएको छ भने तेस्रो पटकको प्रयासमा जो बाइन अमेरिकाको ४६औं राष्ट्रपति हुने सम्भावना बढ्दो छ।ट्रम्प समर्थक फक्स न्युजले बाइडनको पक्षमा २६४ र ट्रम्पको पक्षमा २१३ इलेक्ट्रोल कलेज मत प्रक्षेपण गरेको छ। तर, उता बाइडन समर्थक सीएनएनले भने एरिजोनाको ११ इलेक्ट्रोल कलेज मत अझै पनि नजोडेर बाइडनलाई २५३ मै अड्काएको छ।

अहिले नभाडा, जर्जिया, नर्थ क्यारलाइना, पेन्सेल्भेनिया र अलास्काको मत गणना जारी छ। रातो राज्य अलास्का यसपटक पनि रातै रहने भएकाले त्यसको हिसाव किताव छैन। नर्थ क्यारलाइना पनि यसपटक लगभग रातै हुने अनुमान गर्नेको संख्या बढेको छ। 

६ इलेक्ट्रोल कलेज मत रहेको नेभादा थप नीलो हुदै गएको छ भने १६ लेक्ट्रोल कलेज  मत रहेको रातो जर्जिया फिक्का रातो हुदै नीलो हुने दिशामा तिब्रगतिमा अगाडि बढिरहेको छ। यो गति कायम रहे जर्जिया पनि नीलो हुने सम्भावना बढेको छ। उता, रातो पेन्सेल्भेनियाको रङ उड्दै गए पनि अन्तिममा यो कुन रङमा रहने हो? यसै भन्न सकिने स्थिति छैन। तर, पेन्सेल्भेनियाको रातो रङ उड्दै जाँदा ट्रम्पमा निराशा र बाइडनमा उत्साह छाएको छ।

अमेरिकी चुनावका लागि निर्णायक बनेको नभाडामा मतगणना ढिलो भैरहेको छ। पछिल्लो २४ घण्टामा थप एक प्रतिशतको मात्र परिणाम बाहिरिएको छ। यो परिणाम पनि बाइडनको पक्षमा छ। ७५ प्रतिशत गणना हुँदा बाइडनको अग्रता ७ हजार ६४७ मत रहेकोमा अहिले यो बढेर ११ जार ४३८ पुगेको छ। जुवाको राजधानी भनिने लस भेगास रहेको यो राज्यको एउटै क्लार्क काउन्टीमा ७० प्रतिशत मत रहेको छ। यो काउन्टी २००४ पछि लगातार नीलो रहदै आएको छ।

यसैगरी जर्जियाको ९९ प्रतिशत मत गणना हुँदा ट्रम्पको अग्रता खुम्चिदै १३,२२० (०.२%) मा झरेको छ। त्यहाँ मतगणना हुन बाँकि नीला काउन्टीकै मेल ब्यालेट बढी भएकाले बाइडन पक्ष उत्साहित छ भने ट्रम्प पक्ष निराश भको छ। 

उता, पेन्सेल्भेनियामा ९२ प्रतिशत मतगणना भैसकेको छ। पछिल्लो परिणाम अनुसार यहाँ पनि ट्रम्पको अग्रता खुम्चिएको छ। यतिबेला ट्रम्पको पक्षमा ५०.३ प्रतिशत र बाइडनको पक्षमा ४८.६ प्रतिशत मत रहेको छ। यहाँ मतान्तर घटेर  १११,४०० पुगेको छ। अझै यहाँ पाँच लाखभन्दा बढी मत गन्न बाँकि रहेको बताइएको छ। 

यसैगरी नर्थ क्यारलाइनामा ९४ प्रतिशत मत गणना हुँदा ५०.१ प्रतिशत मतका साथ ट्रम्प अगाडि रहेका छन् भने ४८.७ प्रतिशत मतका साथ बाइडन उनलाई पछ्याइरहेका छन्। यहाँ मतान्तर घटेर ७६,७०१ भएको छ। अझै यहाँ लाखौ मत गन्न बाँकि छ। 

यसैबीच राष्ट्रपति ट्रम्पले मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न दायर गरेको मुद्दा त्यहाँका अदालतले खारेज गरिदिएको छ। उता, पेन्सेल्भेनियामा खायर गरेको मुद्दा सुनुवाइ गर्न त्यहाँको सुप्रिम कोर्टलाई भनिएको छ। 

चुनावको पल्ला बाइडनको पक्षमा देखिए पनि उनी अन्तिम गणना पर्खिरहेका छन्। र, सबैलाई धैर्यका साथ प्रतीक्षा गर्न आग्रह गरिरहेका छन्। उता, राष्ट्रपति ट्रम्पले निर्वाचन भएको मंगलबार राति नै आफू विजयी भएको घोषणा गर्दै बाँकि मत नगन्न र गनेमा त्यो आफूलाई मान्य नहुने बताएका थिए। 

प्रकाशित मिति: : 2020-11-06 01:09:00

प्रतिकृया दिनुहोस्