साविक विजेता मुम्बई छैटौं पटक फाइनलमा

साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनलमा प्रवेश गरेको छ। 

बिहिबार राती पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई छैटौं पटक फाइनलमा प्रवेश गरेको हो।

जितको लागि २ सय १ रनको विजयी लक्ष्य पछ्छाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो। 

दिल्लीका मार्कस स्टोइनिसले ४६ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिए।

अक्षर पटेल ३३ बलमा २ चौका र ३ छक्का सहित ४२ रनको योगदान दिदा कागिसो रबाडाले १५ रनको योगदान दिए।

श्रेयस ऐर १२ रनमा क्याच आउट भए। ऋषभ पन्त ३ रनमा क्याच आउट भए। ओपनर पृथ्वी शा, क्विन्टन डी कक,अजिंक्या रहाणे र शिखर धवन शून्यमा आउट भए।

जस्प्रित बुमराहले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिए। बोल्टले २ ओभरमा १ मेडन सहित ९ रन खर्चेर २ विकेट लिए। क्रुनाल पान्ड्या र काइरन पोलार्डको नाममा एक एक विकेट रह्यो।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय रन बनाएको थियो। 

मुम्बईका ईशान किशन ३० बलमा ४ चौका र ३ छक्कासहित ५५ रनमा अविजित रहे। हार्दिक पान्ड्या १४ बलमा ५ छक्कासहित ३७ रनमा अविजित रहे।

किशन र पान्ड्याले २३ बलमा ६० रनको अविजित साझेदारी गरेका थिए। 

क्विन्टन डी कक र सूर्यकुमार यादवले ६२ रनको साझेदारी गरेका थिए। डी कक ४० रनमा आउट भए। ककले २५ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

सूर्यकुमार ३८ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रनमा आउट भए।

काइरन पोलार्ड र ओपनर रोहित शर्मा खाता नोखोली पेभिलिएन फर्किए।

 क्रुनाल पान्ड्या १३ रनमा क्याच आउट भए। उनले १० बलमा १ छक्का प्रहार गरे।

दिल्लीका स्पिनर रविचन्द्रन आश्विनले ४ ओभरमा २९ रन खर्चेर प्रमुख तीन विकेट लिए। मार्कस स्टोइनिसले १ ओभरमा ५ रन खर्चेर १ विकेट लिए। एनरिच नोर्कियाले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए।

कागिसो रबाडा र ड्यानियल साम्सले भने कमजोर प्रर्दशन गरे। समान ४ ओभरमा साम्सले ४४ र रबाडाले ४२ रन खर्चिदा विकेटबिहिन बने।

यसअघि मुम्बई पाँच पटक फाइनलमा पुग्दा चार पटक उपाधि जितेको थियो। 

फाइनल प्रवेशको लागि दिल्लीले थप एक मौका पाउने छ। शुक्रबार एलिमिनेटरमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुने छ। 

जसको विजेताले दिल्ली क्यापिटल्ससँग फाइनल प्रवेशको लागि आइतबार प्रतिस्पर्धा गर्ने छ। फाइनल मंगलबार हुने छ।

प्रकाशित मिति: : 2020-11-06 06:53:00

प्रतिकृया दिनुहोस्