आफूले जिते मात्र मान्य हुने भनेर ट्रम्पले उडाए अमेरिकी प्रजातन्त्रको खिल्ली

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई निर्वाचित हुन नदिन डेकोक्र्याटहरुले चुनावमा धाँधली गरेको आरोप लगाएका छन्। अमेरिकी पूर्वी समय अनुसार विहिबार साँझ साँढे ६ बजे ह्वाइट हाउसमा मिडियालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले वैध मतका आधारमा आफू विजयी हुने भए पनि अवैध मतका आधारमा डेकोक्र्याटहरुले जित्न चाहेको बताउँदै उनले त्यसको विरूद्ध सर्वोच्च अदालत जाने र आफू विजयी हुने बताए।

पैसा र ठूलो सञ्चारमाध्यमको आडमा आफूबाट नतिजा छिनेर डेमोक्र्याटतर्फ लगिएको बताउँदै उनले मतगणना गर्ने कर्मचारीमाथि पनि धाँधलीको आरोप लगाए ।

उनले हुलाकमार्फत गरिएका मतदान अवैध रहेको आरोप लगाउँदै आफूले ती मतलाई नमान्ने पुरानै कुरा पनि दोहोर्याए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले जिते मात्र चुनावी परिणाम मान्य हुने बताएका छन। उनको यो धारणाले अमेरिकी लोकतन्त्रको खिल्ली त उडायो नै, अमेरिकाले अरू देशलाई प्रजातन्त्रको पाठ पढ़ाउने नैतिक धरातल पनि गुमाएको छ।

राष्ट्रपति ट्रम्पको यो भनाइबाट बहुमत अमेरिकी अचम्मित भएका छन्। उनीहरूले राष्ट्रपतिबाट यस्तो धारणाको अपेक्षा गरेका थिएनन्। त्यही प्रक्रियाबाट आफूले जितेका राज्यको परिणाम चाँहि सही हुने र आफू हारेका राज्यको परिणाम चाँहि गलत हुने भन्ने कुरा अमेरिकाका लागि लाजको विषय भएको उनीहरूले बताएका छन्। 

राष्ट्रपति ट्रम्पले यसपटक हाउसमा एकजना पनि रिपब्लिकन नहारेको र थप धेरैले जितेकोमा आफ्नो योगदान रहेको बताए। तर, उनले ती विजयीहरू पनि यही प्रक्रियाबाट जितेर आएको सत्यचाँहि दरकिनार गरे। 

अमेरिकी राष्ट्रपतिका रूपमा उनको यो धारणाले अब अमेरिकाले अरू देशलाई प्रजातन्त्रको पाठ सिकाउने नैतिक धरातल गुमाएको छ। एउटै प्रक्रियाबाट आफू जित्दा सही हुने र आफू पराजित हुँदा धाँधली हुने ट्रम्पको द्वैध चरित्र अमेरिकी प्रजातन्त्रका लागि कालो धव्वा नै हो।

ट्रम्पको पछिल्लो गतिविधिबाट रिपब्लिकन पार्टीका नेताहरू पनि खुशी छैनन्। सार्वजनिक रूपमा कसैले आफ्नो धारणा बाहिर नल्याइसके पनि ट्रम्पले चुनावको वैधतामाथि नै प्रश्न उठाएर उनीहरूको जीतमा समेत प्रश्नचिन्ह लगाइ दिएका छन्। 

यसपटक रिपब्लिकन पार्टीले अमेरिकी कंग्रेसको तल्लो सदनमा थप सदस्य जिताउन सक्यो, सिनेट पनि जोगायो। यसरी हेर्दा पार्टीले जितेको छ। तर , त्यही पार्टीले राष्ट्रपति उम्मेद्वार ट्रम्पलाई भने जोगाउन नसक्ने परिस्थिति सिर्जना हुदैछ। यो संजोग मात्र पनि हुन सक्छ र नियोजित पनि हुन सक्छ।

यो पंक्तिकार शुरूदेखि नै ट्रम्प आफूसँगै हार्ने बताउँदै आएको छ। उनको चरित्र अमेरिकाका लागि गौरवको हैन, लज्जाको विषय रहदै आएको थियो। त्यो लज्जा अरू चार वर्ष थप बोक्न अमेरिका तयार नभएर उनलाई दरकिनार लगाउन लागेको हो। उनी रिपब्लिकन पार्टीका लागि पनि प्रेमपिण्ड अर्थात् गलगाँड भैसकेका थिए। 

चुनावमा बाइडनको नीलो गधा चम्किरहे पनि अझै फिनिस लाइन पार गरिसकेको छैन । राजनीतिमा यसै पनि रात रहे अग्राख पलाउँछ भन्छन्, अझै पनि यसै भन्न सकिदैन। बाइडनफे भनेका छन्, चुनावको अन्तिम परिणाम नआउन्जेल धैर्यतका साथ पर्खौं । उनले यसो भनेर ठीकै भनेका हुन्। 

प्रकाशित मिति: : 2020-11-06 07:44:00

प्रतिकृया दिनुहोस्