बेंगलोरलाई पराजित गर्दै हैदराबाद क्वालिफायरमा

रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गर्दै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपीएल) क्वालिफायरमा पुगेको छ। 

शुक्रबार राती सम्पन्न एलिमिनेटर खेलमा हैदराबादले बेंगलोरलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो।

जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।

हैदराबादको जितमा जेसन होल्डर २० बलमा ३ चौका सहित २४ रनमा अविजित रहे। केन विलियम्सन ४४ बलमा २ चौका र २ छक्का सहित ५० रनमा अविजित रहँदै क्वालिफायरमा स्थान पक्का गरे।

डेभिड वार्नर १७, मनिष पान्डे २४ र प्रियम गर्ग ७ रनमा आउट भए। बेंगलोरका मोहम्मद शिराजले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए। एडम जाम्पा र युजभेन्द्र चहलले एक एक विकेट लिए।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो। 

एबी डिभिलियर्सले ४३ बलमा ५ चौका सहित सर्वाधिक ५६ रनको योगदान दिए। आरोन फिन्चले ३२ रन जोडे। फिन्चले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे।   

आरोन फिन्च र एबी डिभिलियर्सले ४१ रनको साझेदारी गरेका थिए। बेंगलोरका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

हैदराबादका जेसन होल्डरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। टि नटराजनले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए।

शहबाज नदीमको नाममा एक विकेट रह्यो। 

हैदराबादले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ। 

पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्स दिल्लीलाई हराउँदै फाइनलमा पुगि सकेको छ। 

दोस्रो क्वालिफायर आइतबार र फाइनल मंगलबार हुने छ।

प्रकाशित मिति: : 2020-11-06 23:49:00

प्रतिकृया दिनुहोस्