प्रचण्डलाई प्रधानमन्त्रीकाे सुझाव– गुटबन्दीमा नलाग्नुस्

नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गुटबन्दी नलाग्न सुझाव दिएका छन्। 

अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई केन्द्रीय सचिवालय बैठकमा सहमत गराउन झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसहितका अन्तुष्ट पक्षलाई लिएर बालुवाटार पुगेका प्रचण्डलाई गुटबन्दी रोकेर पार्टी एकताको पक्षमा उभिन उनले आग्रह गरेका हुन्।

भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई स्थायी कमिटीको निर्णय अनुसार अघि आग्रह समेत गरेको बताए। 

‘हाम्रो सम्बन्ध पार्टी एकताको सम्बन्ध हो। पार्टी एकता जोगाउन तत्काल गुटबन्दी बन्द गर्नुस् भन्नुभयो,’ एक नेताले भने।  

शनिबार करिव तीन घण्टा प्रचण्ड र माधव नेपाल पक्षका सचिवालय सदस्यहरु अनौपचारिक छलफलमा गरेर बालुवाटार पुगेका थिए।

शुक्रबार पनि धुम्बाराहीमै बसेको बैठकमा पाँच सदस्यहरुले पार्टी अध्यक्ष ओलीलाई भेटेर सचिवालय बैठक बोलाउन आग्रह गर्ने निष्कर्ष निकालेका थिए।

कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको शुक्रबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै सचिवालय सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी भएका थिएनन्।

प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले दुई जना मात्रै बसेर नहुने भन्दै अब पार्टीको बैठक बोलाउन आग्रह गरेको स्रोतले बताएको छ। 

‘एक्लाएक्लै या दुई जना बसेर हुँदैन। अब बैठक बोलाउनपर्छ भनेर उहाँले भन्नु भयो। तर जवाफमा प्रधानमन्त्रीले बैठक नबोलाउने बताउनु भयो,’ ती नेताले भने। 

प्रकाशित मिति: : 2020-11-07 13:19:00

प्रतिकृया दिनुहोस्