बालुवाटारमा दुईपाने पत्र बुझाएर फर्केका प्रचण्ड–माधव अब कता ?

शिलापत्र

काठमाडाैं

तिक्त भयो शनिबारको बालुवाटारको बैठक । प्रधानमन्त्री केपी ओलीसँग प्रचण्डले सोधे, ‘कार्यकारी अध्यक्ष भनेर पार्टीले जिम्मा दियो । तर कार्यकारीको फिलिङ खोई ?’

प्रचण्डसँग ओलीले प्रतिप्रश्न गरे, ‘सरकारको नेतृत्वमा म छु । तर किन निरन्तर अप्ठेरोमा पार्ने काम पार्टीभित्रैबाट हुन्छ ?’ उनले अन्यत्रै बैठक गर्दै हिँड्नेहरूले बालुवाटार आएर कार्यकारी भूमिका खेल्न सकिएन भन्न अनुचित हुने तर्क गरेका थिए ।

बैठक स्रोतका अनुसार प्रचण्ड पक्षले पार्टी बैठक, संसद छल्दै एकलौटी अघि बढेको भनेर ओलीको आलोचना गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको शब्दमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले ‘दुईपानाको अनुरोधपत्र’ बुझाएका छन् । त्यसमा नेकपा सचिवालय र स्थायी समिति दुवैको बैठक डाक्न माग गरिएको छ । 

प्रधानमन्त्रीको जवाफ उद्धृत गर्दै सल्लाहकार थापा शिलापत्रसँग बोले, ‘बैठक त बसिहाल्छ नि, आवश्यकताअनुसार ।’ ओलीको शब्दले भन्छ, बैठक बस्छ । भावले भन्छ, बैठक बस्दैन । 

प्रचण्ड, माधवहरूले यति नबुझ्ने कुरै भएन ।

माधव नेपालनिकट एक नेताका अनुसार आजको बालुवाटार गमन त्यसै शृंखलाको एउटा कडी मात्रै हो, जहाँबाट अब नेकपाको आन्तरिक कचिंगलले एउटा कोर्स समात्ने छ ।

‘राष्ट्रपतिलाई भेटेर ओलीजीले मध्यावधि चुनावतर्फ जाने संकेत गरिसक्नुभएको रहेछ,’ ती नेताले भने, ‘उहाँ पार्टीभित्रको विवादलाई प्रधानमन्त्रीको अख्तियारका आधारमा मिच्न खोजिरहनुभएको छ । हामी त्यसको जवाफ दिन्छौँ ।’

प्रकाशित मिति: : 2020-11-07 14:47:00

प्रतिकृया दिनुहोस्