राष्ट्रपतिको जिम्मेवारी एकातिर, काम अर्कैतिर !

थाहा खबर

काठमाडाैं

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्ष पुगेपछि हरेक पटक विवाद समाधानका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय हुने गरेकी छन्। पार्टीभित्रको विवादमा हस्तक्षेप गर्ने राष्ट्रपति भण्डारीको कार्यशैलीमाथि निकै टिकाटिप्पणी हुने गरेका छन्।

नेकपाका अध्यक्ष एवम्‌ प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको विवादले नेकपालाई फुटतर्फ धकेलिदिएपछि राष्ट्रपतिले पार्टी एकता जोगाउन सक्रियता बढाएकी हुन्‌।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला राष्ट्रपति भण्डारीको सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ। मंगलबार राष्ट्रपति भण्डारीले उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमलाई शीतल निवासमै बोलाएर पार्टीभित्र विवाद समाधान गर्नका लागि भूमिका खेल्न आग्रह गरेकी थिइन्। 

भण्डारीले गौतमलाई पहिले देखिएको विवादमा जस्तै समाधानका लागि पुल बन्न आग्रह गरेकी थिइन्। राष्ट्रपतिसँग उपाध्यक्ष गौतमले पार्टी एकता मजबुत बनाइराख्न पार्टी र सरकार दुवै विधि र पद्धतिमा चल्नुपर्ने मत राखेका थिए। 

त्यसो त यसअघि पनि प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल एवम्‌ झलनाथ खनालबीच शक्ति संघर्षको कारणले विवाद उत्कर्षमा पुगेपछि उपाध्यक्ष गौतमले विवाद समाधान गर्न भन्दै पहल गरेका थिए। गौतमको सो पहलले विवाद सल्ट्याउनुको साटो कार्यशैलीका कारण संकटमा परेका ओलीलाई नै राहत भएको थियो। त्यसैको 'गुन तिर्न' गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न ओली राजी भएका थिए।

राष्ट्रपति भण्डारीले गृहमन्त्री रामबहादुर थापा 'बादल'लाई पनि शीतल निवासमा बोलाएर पार्टीभित्रको विवादबारे छलफल गरिसकेकी छिन्‌। 

प्रकाशित मिति: : 2020-11-07 09:45:00

प्रतिकृया दिनुहोस्