चितवनको होटलबाट ठूलो संख्यामा चेपाङ बालबालिका तस्करी

विद्यालय बन्द रहेको माैका छोपी बालबालिका तस्करी सल्बलाए

हेटौंडा : मकवानपुरको विकट गाउँका चेपाङ किशोरकिशोरीलाई अनेक प्रलोभन देखाएर चितवनको होटलमा काम गर्न लगिएको पाइएको छ।

राक्सिराङ गाउँपालिका–९ राजाराङका ती किशोरकिशोरीहरु विद्यालयमा अध्ययनरत रहेका थिए।

पटक पटक गरी ७ जनालाई चितवनको लोथर र पिप्लेस्थित होटलहरुमा कामका लागि लगिएको पाइएको हो। इलाका प्रहरी कार्यालय मनहरी राक्सिराङका जनप्रतिनिधि तथा स्थानीय युवाको पहलमा ७ मध्ये ६ जनालाई गत मंगलबार होटलबाट उद्धार गरी ल्याएर शनिबार अभिभावकको जिम्मा लगाएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ले जानकारी दिए।

कोरोना संक्रमणका कारण विद्यालयहरु बन्द रहेको मौका छोपेर बिचौलियामार्फत ती किशोरकिशोरी होटलमा पुर्‍याइएका थिए। त्यसरी बिचौलिया बन्ने राक्सिराङ–९ कै मन्जिल चेपाङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ।

उद्धार गर्न बाँकी अर्की एक किशोरीलाई पनि उद्धार गर्ने प्रयत्न जारी रहेको बताइएको छ। इलाका प्रहरी कार्यालय मनहरी, स्थानीय युवा र राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिहरुको पहलमा ६ जनालाई उद्धार गरी ल्याइएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2020-11-07 21:58:00

प्रतिकृया दिनुहोस्