काेहलपुरमा ‘राजा आऊ देश बचाऊ’को नारा घन्कियो (भिडियो)

राजसंस्था पुनःस्थापनाको माग गर्दै कोहलपुरमा राजा समर्थक युवाहरुले मोटरसाइकल र्‍याली निकालेका छन्।  

‘जनता, देश र श्रीपेचको रक्षा’को लागि भन्दै स्वतन्त्र राष्ट्रवादी अभिायनको  आयोजनामा शनिबार बाँकेको कोहलपुर नगरपालिकका बिभिन्न स्थानमा मोटरसाईल र्‍याली निकालिएको हो।

कोहलपुरको चौराहबाट सुरु भएको र्‍यालीमा राष्ट्रिय झण्डासहित पूर्व राजा–रानी (ज्ञानेन्द्र र कोमल शाह)को तस्वीर अंकित टिसर्ट लगाएका थिए।

उनीहरुले ‘राजा आऊ देश बचाऊ’ , संघीयता खारेज गर, मेची,महाकाली हल्ला छ, राजा ल्याउने सल्लाह छ। २०४७ को संविधान लागु गर’ लगायतका नारा लगाएका थिए। 

चैराहबाट सुरु गरिएको मोटरसाइकल र्‍याली  कोहलपुर– नेपालगञ्ज सडकको न्युरोड, एनटिभि रोड पिपलचौतारा हुँदै पुनः चौराहामा आएर कोण सभामा परिणत भएको थियो। 

र्‍यालीमा करिब ५ सय जनाको सहभागिता रहेको अभियानका विजय काफ्लेले बताए। 

उनका अनुसार वर्तमान शासनले देश र जनताको रक्षा गर्न नसकेकोले स्वदेश देशप्रेमी युवाहरुको सहभागितामा प्रदर्शन गरिएको हो। 

‘हाम्रो अभियान कुनै पनि पार्टी वा विचारसँग सम्बन्धित व्यक्तिहरुको नभइ देशलाई माया गर्ने स्वतन्त्र नागरिकहरुको अभियान हो,’ उनले भने। 

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।  

प्रदर्शनमा विगतमा कांग्रेस तथा कम्युनिष्टमा लागेका युवाहरुको पनि सहभागिता देखिन्थ्यो।

प्रकाशित मिति: : 2020-11-07 12:52:00

प्रतिकृया दिनुहोस्