‘म अमेरिकाको राष्ट्रपति हुँ, कुनै पार्टीको होइन, शत्रुताको भाव त्यागेर सहकार्य गरौँ’ (भिडियो)

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि जो वाइडेनले देशवासीका नाममा पहिलो सम्बोधन गरेका छन्।

डेमोक्र्याटिक उम्मेदवार वाइडेनले गृह राज्य डेलवरको विलमिङ्गटनमा आइतबार सम्बोधन गर्दै सबैसँग मिलेर काम गर्ने घोषणा गरे। 

उनले भने, ‘म अब अमेरिकालाई कुनै रातो त कुनै नीलो राज्यका रूपमा रहन दिन्नँ। म अमेरिकाको राष्ट्रपति हुँ, कुनै पार्टीको होइन। म सबैसँग मिलेर काम गर्छु। म यस मुलुकको मेरुदण्डलाई फेरि उठाउँछु।’

उनले मतभेदलाई पाखा लगाएर जनताको सेवाका लागि सहकार्य गर्नु पर्ने बेला आएको समेत बताए। ‘तपाईंहरूले मप्रति विश्वास गर्नुभयो। यसलाई म विनम्रतापूर्वक स्वीकार गर्छु। म सबैलाई साथमा लिएर अघि बढ्छु। सिनेट तथा हाउसमा रहेका रिपब्लिकनहरुलाई सहकार्यका लागि अपिल गर्दछु।’ 

वाइडेनले अमेरिकी नागरिकले आफूलाई इतिहासमै सबैभन्दा बढी भोट दिएर जिताएको भन्दै धन्यवाद समेत व्यक्त गरे।  ‘यो जित तपाईंहरूको हो। मैले ७.४ करोड भोट प्राप्त गरेको छु। यति भोट अहिलेसम्म कसैले (अमेरिकाको इतिहासमा) पाएका थिएनन्।’

एकता र सम्भावको सन्देशसहित चुनाव लडेका वाइडेनले पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पारेसँगै २७० इलेक्टोरल कलेज मतको आँकडा पारे गरेका छन्।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ। तर उनले त्यो आँकडा पार गरेका हुन्। 

अमेरिकाको इतिहासमा वाइडेन सबैभन्दा धेरै मत पाएर राष्ट्रपतिमा निर्वाचित हुने पहिलो व्यक्ति बनेका छन्। उनले सात करोड ४५ लाख भन्दा बढि मत पाएका छन्।

उनले यसअघि पनि आफू सबै अमेरिकी नागरिकको राष्ट्रपति बन्ने बताएका थिए। 

‘मेरो सम्मान छ, तपाईंले मलाई देशको नेतृत्व गर्नका लागि चुन्नुभयो। हाम्रा अगामी काम चुनौतीपूर्ण छन्। तर म तपाईंहरू समक्ष प्रतिबद्धता गर्छु– म सबै अमेरिकी नागरिककको राष्ट्रपति बन्छु, चाहे मलाई भोट दिने हुन् वा नदिने,’ उनले भने।

वाइडनेले सम्बोधनमा डोनाल्ड ट्रम्पआफ्नो शत्रु नभएको समेत बताए।  ‘म आफैँले चुनावमा हार व्यहोरेको छु, त्यसको पीडा थाहा छ। हामी विपक्षी हुन सक्छौँ, शुत्र कदापी होइनौँ। हामीलाई अमेरिकी जनताको सेवा गर्न अवसर दिनुस्। यो बेला  शत्रुताकाे भाव राख्ने समय होइन्, यसलाई अन्त्य गरिदिनुस्।’

यद्यपी अहिले पनि चार राज्यमा मतगणना जारी छ। ५३८ इलेक्टोलर कलेज मत मध्ये २७९ इलेक्टोलर कलेज मत पाएका छन् वाइडेनले। ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत छ।

११ तथा १६ इलेक्टोरल कलेज मत रहेको एरिजोना र जर्जियामा वाइडेन अघि छन्। ३ तथा १५ इलेक्टोरल कलेज मत रहेको अलास्का र नर्थ क्यारोलाइनामा ट्रम्प अघि छन्। 

उनले लामो समयदेखि रिपब्लिकनको पडक रहँदै आएको एरिजोना र जर्जियामा पनि जित हाँसिल गर्ने सम्भावना कायम राखेका छन्। 

उनले चार वर्षअघि गुमेका विस्कनसिन, मिसिगन र पेन्सिलभेनियामा जित हाँसिल गरिसकेका छन्।

तर ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन्। त्यसको कुनै पनि प्रमाण भने अहिलेसम्म भेटिएको छैन।

वाइडेनले आफ्नो प्रशासनका प्राथमिकताहरु प्रस्तुत गरेका छन्। सुस्त बनेको अर्थतन्त्र उकास्न, संस्थागत रुपमा रहेको रंगभेद अन्त्य गरि सबैलाई समान तथा सम्मानित व्यवहारको स्थापना गर्न, सबैको पहुँचमा पुग्ने स्वास्थ्य सेवाको व्यवस्था गर्न तथा संकटमा आएको पृथ्वीको रक्षाका लागि जलवायु परिवर्तन नियन्त्रणमा राख्नका लागि काम गर्ने उनले बताए।

उनले भने, ‘हाम्रो पहिलो र टड्कारो प्राथमिकता भनेको कोरोना भाइरसमाथि जित हाँसिल गर्नु हो। त्यसका लागि विज्ञानको विश्वास गरेर काम तत्काल थालिने छ। म सोमबार नै एउटा टोली घोषणा गर्नेछु। जसमा शीर्ष वैज्ञानिक र विशेषज्ञ रहनेछन् र हाम्रो कोभिड प्लानअन्तर्गत काम गर्नेछन्। यो योजना जनवरी २१ देखि लागू हुनेछ।’

सम्बोधनको क्रममा उनले दिवंगत छोरा वाइडेनको स्मरण पनि गरे। उनी उपराष्ट्रपतिका रूपमा सन् २००८ मा ह्वाइट हाउस छिरेका थिए।

उनी उपराष्ट्रपति रहेकै बेला बाइडेनका जेठा छोरा बो वाइडेनको ४६ वर्षकै उमेरमा क्यान्सरका कारण मृत्यु भएकाे थियाे। उनलाई धेरैले वाइडेनको राजनीतिक उत्तराधिकारीका रूपमा हेरेका थिए। 

उनकी श्रीमती निला र छोरी नाओमीको पनि कार दुर्घटनामा मृत्यु भएकाे थियाे। सोही दुर्घटनामा परेका दुई छोरा भने बाँचे। जिल वाइडेनकी दोस्री पत्नी हुन्। 

From the bottom of my heart: thank you. pic.twitter.com/s76oHFkr66

— Joe Biden (@JoeBiden) November 8, 2020
प्रकाशित मिति: : 2020-11-08 08:22:00

प्रतिकृया दिनुहोस्