निर्ममतापूर्वक पिटिएको फुटेज बजेपछि गोस्वामीलाई सेन्ट्रल जेल स्थानान्तरण

भारतीय पत्रकार अर्नब गोस्वामीलाई नाभी मुम्बईस्थित तालोजा सेन्ट्रल जेलमा स्थानान्तरण गरिएको छ।

आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका उनलाई अलिबागस्थित क्वारेन्टाइनमा राखिएकाे थियाे। 

तर उक्त क्वारेन्टाइनमा आफूलाई निर्ममतापूर्वक पिटिएको र कसैलाई भेट्न नदिएको बताएपछि स्थानान्तरण  गरिएकाे हाे। 

यसअघि उनले  प्रमुख सम्पादक रहेको रिपब्लिक टेलिभिजनमा फुटेज समेत प्रशारण गरेका थिए। 

‘मेरा कानुन व्यवसायीसँग बोल्न मलाई दिइएको छैन। बिहान ६ बजे उनीहरुले मलाई उठाए र कुनै कानुन व्यवसायीसँग बोल्न नदिने बताए। अदालतलाई भन्दिनुस् कि जेलमा मलाई पिटिएको छ’, गोस्वामीले भनेका छन्।

गोस्वामीमाथि सन् २०१८ मा  एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ। यो मुद्दा यसअघि बन्द गरिएको भए पनि महाराष्ट्र प्रहरीले यो मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिएको थियो।

रिपब्लिकन टेलिभिजनले गोस्वामीलाई यसअघि नै बन्द भइसकेको मुद्दामा पक्राउ गरिएको आरोप लगाएको छ।

यता अर्नबको बचाउमा भारतको केन्द्र सरकार, भारतीय जनता पार्टी अघि आएको छ। 

उनीहरुले महाराष्ट्र सरकारले अर्नबलाई पक्राउ गरेर प्रेस स्वतन्त्रताको उपहास गरेको र ‘इमर्जेन्सी’ को परिस्थिति सिर्जना गरेको आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2020-11-08 17:16:00

प्रतिकृया दिनुहोस्