संक्रमणकालमा वाइडेनको टिमसँग काम गर्न ट्रम्पमाथि दबाब

 राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२१ को जनवरीमा नयाँ प्रशासनले पदभार लिने बित्तिकै शक्तिलाई सहज हस्तान्तरण सुनिश्चित गर्न राष्ट्रपति–निर्वाचित जो वाइडेनको टोलीसँग सहकार्य गर्न दबाबको सामना गर्न थालेका छन्।

अमेरिकामा सामान्य सेवा प्रशासन (जिएसए)ले औपचारिक रूपमा नयाँ राष्ट्रपति चुनेको मान्यता दिने प्रचलन छ जसले संक्रमणकाल सुरु गर्दछ। तर ट्रम्पले नियुक्त गरेकी यस निकायकी प्रमुख प्रशासक एमिली मर्फीले कुनै प्रक्रिया शुरू गर्नु भएको छैन। मर्फीले वाइडेनको टिमसँग सहकार्य गर्ने बारेमा राष्ट्रपति ट्रम्पले कुनै निर्देशन दिएका छैनन्। 

त्यो स्पष्टताको अभावले प्रश्नहरू खडा गरिरहेको छ। यसबाट ट्रम्पले सार्वजनिक रूपमा वाइडेनको जितलाई मान्यता नदिएको र चुनावमा धाँधली भएका झुठा दाबीलाई अझै पनि सत्य साबित गर्न खोजेझैं देखिँदैछ। 

अमेरिकी आधुनिक युगमा राष्ट्रपतिले आफ्नो उत्तराधिकारीका लागि त्यस्तो अवरोध खडा गरेको कुनै उदाहरण छैन। विशेष गरी यस बर्ष चुनौती बढी छ किनकि वाइडेनले एउटा महामारीको बीचमा प्रशासन सम्हाल्दै छन् जहाँ सरकारमाथि बृहत्तर जवाफदेहीको खाँचो छ। 

‘अमेरिकाको राष्ट्रिय सुरक्षा र आर्थिक चासो मुख्यरुपमा संघीय सरकारको कार्यक्षेत्रमा रहेको अवस्थामा अमेरिकी प्रशासनले जनताको इच्छाको सम्मान गरी सत्ताको सहज र शान्तिपूर्ण हस्तान्तरण गर्नु पर्दछ,’ वाइडेनका संक्रमणकालीन सहयोगी जेन साकीले ट्वीटमा बताएका छन्। 

अमेरिकाको गैर–नाफामूलक संस्था सेन्टर फर प्रेसिडेन्सियल ट्रान्जिसनको सल्लाहकार बोर्डले पनि ट्रम्प प्रशासनलाई ‘चुनाव पछि संक्रमणकाल तुरुन्तै प्रारम्भ गर्न र वाइडेन टोलीलाई संक्रमकालीन ऐन बमोजिम स्रोतहरूमा पूर्ण पहुँच उपलब्ध गराउन’ आग्रह गरेको छ। 

शनिबार अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित वाइडेनले राष्ट्रपति ट्रम्पबाट पर्याप्त सहयोग प्राप्त नगरे पनि सरकार निर्माणको कदम चाल्नु भएको छ। 

वाइडेनले सर्वप्रथम कोरोनाभाइरसमा ध्यान केन्द्रित गर्नु हुनेछ। अमेरिकामा हालसम्म लगभग २ लाख ४० हजार अमेरिकीको ज्यान गइसकेको छ। वाइडेनले सोमबार एक कार्यदलको कार्य विवरण घोषणा गर्दै छन् जसले महामारीलाई नियन्त्रणमा ल्याउने प्रयासको खाका तयार गर्नेछ। यस कार्यदलले आगामी जनवरी २० मा वाइडेनले राष्ट्रपति पद ग्रहण गरेपछि कार्यान्वयन थाल्नेछ। 

वाइडेनले यसअघि नै शल्य चिकित्सक डा विवेक मूर्थी र पूर्व खाद्य तथा औषधि प्रशासन आयुक्त डेभिड केसलरलाई कार्यदलको सह–अध्यक्षका रूपमा घोषणा गरिसकेका छन्। 

वाइडेनले प्रशासन समीक्षा टोलीको गठन गर्नु हुनेछ जसले हालको ट्रम्प प्रशासनका मुख्य निकायहरुसँग सम्पर्क स्थापना गर्नेछ। उनीहरूले विवरणहरु संकलन गरी त्यसको समीक्षा गर्नेछन् जस्तै बजेट र कर्मचारी निर्णयहरू, बाँकी नियमहरु र प्रक्रियामा रहेका अन्य कामहरू। 

तर त्यो प्रक्रिया पूर्ण रूपमा सुरु हुन सक्दैन जबसम्म वाइडेनलाई जिएसएले राष्ट्रपति–निर्वाचित रूपमा मान्यता दिँदैन। 

जिएसएको नेतृत्वले स्वतन्त्र र पक्षपात रहीत ढंगले कार्य गर्ने विश्वास गरिन्छ, र कम्तिमा संघीय सरकारका केही अवयवहरूले संक्रमणकालीन योजनाहरू कार्यान्वयन गर्न सुरु गरिसकेका छन्। उदाहरणका लागि, नागरिक उड्डयन अधिकारीहरूले डेलावेयरको विल्मिंगटनस्थित वाइडेन लेकफ्रन्टको घरमाथिको हवाईक्षेत्र प्रतिबन्धित गरेका छन भने सिक्रेट सर्भिसले राष्ट्रपति–निर्वाचित र उनको परिवारका लागि राष्ट्रपतिको सुरक्षा विवरणबाट एजेन्टहरू प्रयोग गर्न थालेको छ।

डेमोक्रेटका केही नेताहरूले नयाँ प्रशासनको तयारी गरिरहेका पनि देखिएका छन्। 

वाइडेनका सहयोगीहरूले राष्ट्रपति–निर्वाचित र संक्रमणकालीन टोलीले रिपब्लिकन सांसदहरुसँग सम्पर्क गरेका छन्। ट्रम्पका निकटतम सहयोगीहरूमध्ये एक, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार मन्त्रिपरिषदको बैठक बस्नुअघि पूर्व उपराष्ट्रपति तथा सिनेटर वाइडेनलाई बधाई दिएका छन्। 

‘जो वाइडेनसँग मेरो करिब ४० वर्षदेखि लामो र न्यानो व्यक्तिगत सम्बन्ध रहेको छ, र म उनलाई इजरायल राज्यको एक महान मित्रको रूपमा चिन्दछु,’ नेतन्याहूले भनेका छन्।

रिपब्लीकन पार्टीका एक मात्र जीवित पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले वाइडेनलाई ‘एक असल व्यक्ति’ रहेको जनाउँदै उनको शासनकालमा अमेरिका अझ एकबद्ध हुने विश्वास व्यक्त गरेका छन्। 

तर दक्षिण क्यारोलिनाका सिनेटर लिन्डसे ग्राहम लगायत केही रिपब्लिकनले ट्रम्पलाई चुनाव सम्बन्धी कानुनी चुनौतीहरूको अनुशरणलाई जारी राख्न आग्रह गरेका छन्। 

वाइडेनले आइतबार विलमिंग्टनमा आफ्नो घर नजिकको ब्रान्डवाईनस्थित सेन्ट जोसेफ चर्चमा भाग लिए। यहाँ उन प्रत्येक साता जाने गर्छन्। 

उनले अरु समय प्रायः घरमै बिए । उनका केही कर्मचारीले भिडियोमार्फत घण्टौ खर्च गरी संक्रमणकालीन योजना बनाउनेतर्फ केन्द्रित भएका थिए। 

ती योजनाहरू जोर्जियामा दुई सिनेटको दौडसँग पनि सम्बन्धित हुन सक्छन् किनभने यहाँ आगामी जनवरी ५ मा दोस्रो चरणको मतदान हुँदैछ। यो ठाउँमा रिपब्लिकनले ती सिटहरू जितेमा सिनेटमा रिपब्लीकनको बहुमत हुनेछ र वाइडेनको मन्त्रिमण्डल गठनमा ढिलाई हुनुका साथै वाइडेनले अघि सारेका कैयौं योजनालाई सहज रुपमा अघि बढाउन कठिन हुनेछ। 

शनिबार आफ्नो विजय भाषणको क्रममा वाइडेनले आफूले सबैलाई एकीकृत गरेर लैजाने बताउनु भएको थियो। उनले ट्रम्प समर्थकहरूलाई ‘एक अर्कालाई मौका दिन’ आग्रह पनि गरिसकेका थिए। 

प्रकाशित मिति: : 2020-11-09 15:56:00

प्रतिकृया दिनुहोस्