गोर्खा पल्टनमा नेपाल निर्भरता घटाउँदै भारत, कुमाउनी र गढवालीलाई भर्ती गरिँदै

नेपाल खबर

काठमाडौं

नेपालसँगको सम्बन्ध चिसिएका बेला भारतले गोर्खा पल्टनमा नेपाली र भारतीय गोर्खाबाहेक अन्यलाई पनि भर्ना गर्ने भएको छ।

भारतीय सेनाले गोर्खा पल्टनमा उत्तराखण्डका कुमाउनी र गढवालीलाई पनि भर्ना लिने तयारी गरेको हो। हाल गोर्खा रेजिमेन्टमा ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय गोर्खाहरुलाई भर्ना लिने गरिएको छ। यद्यपि कमान्डिङ अफिसरहरु भने अरु पनि हुने गर्छन्।

भारतीय सेनाका पूर्वजर्नेल अशोक मेहताले दुई महिनाअघि नै भारतको मन्त्रिपरिषदको समितिबाट सेनाको सो प्रस्ताव स्वीकृत भएको बताए।

‘सञ्चारमाध्यममा आएका कुराहरु सत्य हुन्। यो प्रस्तावलाई भारत सरकारको मन्त्रिपिरषदको समितिले २ महिनाअघि नै स्वीकृत दिएको छ,’ मेहताले नेपालखबरसँग भने, ‘गोर्खा पल्टनमा अहिले रिक्त रहेको स्थानमा कुमाउनी र गढवालीलाई भर्ना गर्ने तयारी छ।

यो पाइलट परियोजना हो।’ उनले गोर्खा रेजिमेन्टमा भारतीय नागरिकको संख्या बढी होस् भन्ने उदेश्यले सरकारले यो कदम चालेको बताए। तर पछिल्लो समय नेपाल र भारतबीच देखिएको सीमा विवादको विषयसँग यो निर्णयको कुनै सम्बन्ध नभएको उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-11-10 11:22:00

प्रतिकृया दिनुहोस्