सेयर बजारमा रौनक, चार अर्बभन्दा बढीको कारोबार, नेप्से सूचक २५.९८ अंकले बढ्यो

बिएल संवाददाता

काठमाडाै‌ं

सेयर बजारमा मंगलबार उमंग देखिएको छ। विशेषगरी जीवनबिमा कम्पनीहरु, निर्जीवन बिमा र अरु केही समूहमा पनि चमक आउँदा समग्र सेयर बजारमा नयाँ हो। 

मंगलबार नेप्से सूचक २५.९८ अंकले बढेर १६७८.७९ विन्दुमा आइपुगेको छ। १९६ कम्पनीको ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ९६ लाख ५७ हजार भन्दा धेरै कित्ता सेयर कारोबार भएको छ। 

विगत केही समययतादेखि नै बजार क्रमशः विस्तार हुने क्रममा थियो। पछिल्लो समय सेयर बजारमा नयाँ रौनक देखिनुमा लाभांशको समय आउनु पनि प्रमुख कारण हो। सूचीकृत कम्पनीहरुले धमाधम लाभांश प्रस्ताव गरेर साधारण सभा बोलाउन थालेका छन्। यसकारण बजारले नयाँ रफ्तार लिएको हो। 

यसका साथै बैंकिङ प्रणालीमा अधिक तरलता छ। बैंकहरुले सस्तो ब्याजदरमा सेयर कर्जा उपलब्ध गराउन थालेका छन्। औसतमा ८% मै सेयर कर्जा पाउन सकिने भएको छ। सेयर कर्जा निकै सस्तोदर पाउन थालेपछि बजारमा नयाँ चमक आएको हो। 

सबल वित्तीय सूचक भएका कम्पनीहरुमा एकपछि अर्को बढोत्तरी देखिएको छ। दोहोरो अंकले बढेको नेप्से सूचकलाई खरिदबिक्री रकमले पनि मज्जाले साथ दिएको छ। 

मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ, सानिमा जनरल इन्सुरेन्सको भाउ सर्किट लाग्ने गरी बढेको छ। विशाल बजार कम्पनीको भाउ सबैभन्दा धेरै ४.६१% ले घटेको छ। 

खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ। यसको २८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ, दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा हिमालयन डिष्टिलरी छन्।

प्रकाशित मिति: : 2020-11-10 15:31:00

प्रतिकृया दिनुहोस्