ट्रम्पले हार स्वीकार नगर्नु लाजको विषय हाे, सत्ता हस्तान्तरण राेकिँदैन: वाइडेन

बिएल संवाददाता

न्यूयाेर्क

 सत्ता सम्हाल्ने तयारीमा रहेका जो वाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा हार स्वीकार नगर्नु लाजको बिषय रहेको बताएका छन्।

मंगलबार गृहराज्य डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा  उनले भने, ‘मलाई लाग्छ यो लाजको बिषय हो।’

अमेरिकी राष्ट्रपति निर्वाचन पराजित भएका ट्रम्पले वाइडेनले चुनावमा धाँधली गरेको आरोप लगाएका छन्। उनले वाइडेनलाई बधाई दिन पनि अस्वीकार गरेका छन्।

आफू पराजित हुने अवस्था देखिएको र मतगणना जारी रहेकै बेला ट्रम्पले भने मतगणनाप्रति असन्तुष्टि र आशंका गर्दै अदालतमा उजुरी दिएका छन्। 

तर  त्यसको कुनै पनि प्रमाण भने अहिलेसम्म भेटिएको छैन।

वाइडेनले भने आफ्नो जित धाँधलीरहीत भएको दावी गरेका छन्। उनले स्पष्ट जित हाँसिल गरेको भन्दै सत्ता हस्तान्तरणमा ट्रम्पले ढिला गर्न नहुने बताउँदै आएका छन्।

‘स्पष्ट जित हात पारेको छु। कुनै पनि बाहानामा ट्रम्पले सत्ता हस्तान्तरणमा ढिला गर्नुहुन्न। र, कुनै पनि अवस्थाम हस्तान्तरण रोकिँदैन,’ उनले भने। 

एकता र सम्भावको सन्देशसहित चुनाव लडेका वाइडेनले २७० इलेक्टोरल कलेज मतको आँकडा पारे गरेका छन्।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ। तर उनले त्यो आँकडा पार गरेका हुन्। तर नतिजा स्वीकृत हुन समय लाग्छ। राज्यहरुले इलेक्टोरल कलेज मतलाई डिसेम्बर १४ मा प्रमाणिकरण गर्छन्।


अमेरिकाको इतिहासमा वाइडेन सबैभन्दा धेरै मत पाएर राष्ट्रपतिमा निर्वाचित हुने पहिलो व्यक्ति बनेका छन्। उनले सात करोड ४५ लाख भन्दा बढि मत पाएका छन्।

अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर तीनमा मतदान भएको थियो। कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले अग्रिम मतदान गरेका थिए।

वाइडेन विजयी हुने निश्चित भएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सपना टुंगिएको छ। दोस्रो विश्वयुद्ध यता दोस्रो कार्यकालका लागि निर्वाचित नहुने ट्रम्प तेस्रो राष्ट्रपति हुन्।

तर ट्रम्पले ट्वीट गरेर अन्ततः आफूले चुनाव जित्ने उल्लेख गरेका छन्।

वाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसले अन्तरिमककालको काम थाल्ने प्रयास गरेका छन्। तर ट्रम्प प्रशासनले अन्तरिमकाललाई अहिलेसम्म सहज बनाएको छैन।

प्रकाशित मिति: : 2020-11-11 07:45:00

प्रतिकृया दिनुहोस्