‘चीनले नेपाल र भारतसँग त्रिपक्षीय सहयोगको वकालत गरेको छ’

अनलाइनखबर

काठमाडाैं

२५ कात्तिक, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैंको शुभकामना सन्देश दिँदा ‘रेसम फिरिरी’ गीत गाएको भिडियो सार्वजनिक गरिन्, जसले उनी नेपालीमाझ चर्चामा आइन् । तीजका गीतमा नाच्ने लगायतका यस्तै सांस्कृतिक उपस्थितिले राजदूत यान्छी नेपालीमाझ चर्चामा आउने गरेकी छिन् ।

तर, कुनैबेला नेकपाका नेताहरुलाई भेटेकोमा राजदूतको भूमिकामाथि आलोचना पनि हुने गरेको छ । खासगरी भारतीय मिडियाले नेपालमा चिनियाँ हस्तक्षेप बढेको र नेपाल चीनको पोल्टामा गएको आरोप अलि बढी लगाउने गरेका छन् ।

समसामयिक सन्दर्भहरुमा उठेका यस्तै राजनीतिक एवं कूटनीतिक जिज्ञासालाई लिएर अनलाइनखबरले राजदूत यान्छीसँग अन्तरवार्ता गरेको छ । यस अन्तर्वार्तामा कोभिड १९ बिरुद्ध चीनले लडेको लडाइँको अनुभवसमेत उनले विस्तृतरुपमा सेयर गरेकी छिन् ।

चीनले नेपालका सबै राजनीतिक दलहरुसँग मित्रता राखेको र भेटघाटहरु गर्नु कूटनीतिक मर्यादाविपरीत नभएको बताउँदै राजदूत यान्छीले अनलाइनखबरसँग भनिन्, ‘हस्तक्षेप नगर्नुको अर्थ सञ्चार सम्पर्क नै स्थापित नगर्ने भन्ने होइन । नेपालमा चीनको एक प्रतिनिधिको हिसावले मैले सबै राजनीतिक दल र समाजका सबै क्षेत्रसँग मित्रवत सम्बन्ध राख्छु र हामी दुईपक्षीय सहकार्य र साझ चासोको विषयमा विचार आदान-प्रदानका लागि बेला-बेलामा भेटघाट पनि गर्छौं । यो सामान्य आदान-प्रदान हो र विदेश मामिलामा गरिने सहकार्यलाई धेरै व्याख्या गर्नुपर्ने आवश्यकता छैन ।’

पछिल्लो समयमा भारत र चीनवीच सीमा विवादलाई लिएर केही समस्याहरु देखिइरहेका बेला त्यसको असर नेपालमा पर्छ कि पर्दैन भन्ने प्रश्नको जवाफमा राजदूत यान्छीले नेपालको विकासका लागि चीन, भारत र नेपालले त्रिपक्षीय साझेदारीलाई सक्रियरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

नेपाल र चीनवीचको सम्बन्ध बिगार्न केही तत्वहरु लागिरहेको बताउँदै उनले यसमा दुबै देश चनाखो हुनुपर्ने बताइन् । उनले भनिन्, ‘केही तत्वहरुले चीन-नेपाल सम्बन्धलाई अण्डरमाइन गर्न खोजिरहेका छन्, हाम्रो वीचमा विवादको बिउ रोप्न खोजिरहेका छन् । त्यसैले, यी विषयमा हामी दुई मुलुक एकदमै चनाखो हुनुपर्छ ।’

प्रकाशित मिति: : 2020-11-11 08:19:00

प्रतिकृया दिनुहोस्