काँग्रेसका तदर्थ संस्था पार्टी महाधिवेशनको मताधिकारबाट वञ्चित !

रातोपाटी

काठमाडाैं

काठमाडौँ । नियमित कार्यकाल सकिएका नेपाली काँग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले पार्टी महाधिवेशनअघि आफ्नो अधिवेशन नगराए मताधिकारबाट वञ्चित हुने देखिएको छ ।काँग्रेस शीर्ष नेताबीच नियमित कार्यकाल सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशनबेगर महाधिवेशनमा प्रतिनिधित्व नराउने सहमतिपछि यस्तो अवस्था आएको हो ।काँग्रेस अधिकांश भ्रातृ तथा शुभेच्छुक संस्थाको वैधानिक कमिटी छैन । उनीहरु वर्षौंदेखि तदर्थ समितिबाट चल्दै आएको अवस्था छ । काँग्रेसमा १३ भ्रातृ र १८ वटा शुभेच्छुकमध्ये भ्रातृ संस्था सबै र शुभेच्छुक १२ संस्थाले पार्टीको महाधिवेशनमा प्रतिनिधित्व पाउँछन् । तरुण दल, नेपाल विद्यार्थी सङ्घ, किसान सङ्घ, प्रजातान्त्रिक सेनानी सङ्घ, आदिवासी जनजाति सङ्घ, दलित सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, तामाङ सङ्घ र ठाकुर समाजको वैधानिक कमिटी छैन ।

नेपाल किसान सङ्घ र नेपाल आदिवासी जनजाति सङ्घमा १७ वर्षदेखि  भानु सिग्देल र इन्द्रबहादुर गुरुङले नेतृत्व ओगटिरहेको अवस्था छ । नेपाल प्रजातान्त्रिक सेनानी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्मा कँडेलले १७ वर्षदेखि महाधिवेशन नगराएर नेतृत्वमा कब्जा जमाएका छन् । 

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका अध्यक्ष भोजराज श्रेष्ठ र नेपाल तामाङ सङ्घका अध्यक्ष केवलबहादुर लामाले १४ वर्षदेखि संस्थाको महाधिवेशन गराउन सकेका छैनन् ।नेपाल ठाकुर समाजका अध्यक्ष अनिरुद्र ठाकुरले पनि स्थापना भएदेखि नै महाअधिवेशन गराउन सकेका छैनन् ।

प्रकाशित मिति: : 2020-11-11 16:49:00

प्रतिकृया दिनुहोस्