कलंकीमा दुई ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौंको कलंकीमा एक ट्रकले अर्को ट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिँदा सोहि कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको हो। 

दुर्घटनामा एक जना घाइते भएकाे महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहोराले जानकारी दिए।

दुर्घटनामा नुवाकोटको सुन्दरादेवी घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोटको तारकेश्वर घर भएका ३७ वर्षीय माधब घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको मृत्यु भएको छ।

कलंकीस्थित सहिद स्मृति अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । सो दुर्घटनामा नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय को विजय तामाङ घाइते भएका छन्। 

दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

प्रकाशित मिति: : 2020-11-12 08:08:00

प्रतिकृया दिनुहोस्