कोरोनाको मारमा पाला व्यापारी, तिहारमा लगानी उठाउन धौंधौं (भिडियाेसहित)

ईश्वरी राई (इशु)

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

झिलिमिलीको पर्व भनेर चिनिने तिहार आउन केहि दिन मात्र बाँकी छ। तिहार नजिकिदै गर्दा चहलपहल पनि निक्कै बढ्दै गएको छ। तिहारको रमझममा मानिसहरू व्यस्त देखिएका छन्। 

बजारमा मानिसको घुइँचो बढेसँगै व्यापारीहरू पनि उत्तिकै उत्साहित बनेका छन्। तिहारलाई रंगीन बनाउन विद्युतीय झिलिमिली बत्तीको माग पनि निक्कै बढेको छ। जसकारण  परम्परागत शैलीमा माटो प्रयोग गरेर बनाइने पालाको माग भने घटेको छ।

यसैक्रम पहिलेका तुलनामा पालाको व्यापार स्वाट्टै घटेको असन भेडासिंहमा पाँच दशकदेखि पाला बेच्दै आएकी ६६ वर्षीय सुन्दरी प्रजापति बताउँछिन्।

‘पहिले पालाको माग धेरै हुन्थ्यो’, विगतलाई स्मरण गर्दै उनले बिएल नेपाली सेवासँग भनिन्,‘अहिले खासै माग छैन।’ 

विश्वव्यापी कोरोना संक्रमणका कारण मानिसहरू यतिबेला बाहिर निस्कन डराइरहेका छन्। यसले व्यापारमा क्षति पुगेको उनको भनाई छ। कोरोना महामारी फैलिनुअघि तिहारको रमझममा पाला बेचेर दैनिक १० देखि २० हजारसम्म कमाउने उनी अहिले ८।९ सयमा चित्त बुझाउन बाध्यछिन्।  

पालाको व्यापार पुस्तौदेखि गर्दै आएको बताउने प्रजापतिले भनिन्, ‘तीन पुस्ता भयो हामीले यो व्यापार गर्न थालेको छ। सासुससुराले पनि गर्नुभयो, अहिले म गर्दैछु।’ 

पुस्तेनी यो व्यवसायमा पहिलो पटक नाफा हुन नसकेको उनको गुनासो छ। उनले भक्तपुरबाट पाला किनेर काठमाडौंमा बिक्री गर्दै आइरहेकी थिइन। 

‘पहिले घरमै बनाउने गथ्र्यो। अहिले सम्भव छैन। त्यसैले भक्तपुरबाट २–३ लाख पाला किनेर ल्याउँछौं। त्यसमा कत्ति त फुटेकै हुन्छ। नोक्सान जति आफूले बेहोर्नुपर्छ,’ उनले भनिन्। 

यसपालि उनले पसलका लागि किन्न आउने व्यापारीलाई दर्जनको २० रुपैयाँले बेचेकी छिन्। बाहिरबाट आउने ग्राहकलाई भने ३० रुपैयाँ दर्जनमा बेच्दै आएकी छिन्। 

पालाको व्यापार त्यति नभएको देखेर उनले प्लास्टिकका गमला र अन्य सामान पनि बेच्न सुरु गरेकी छिन्। 

सुन्दरी प्रजापति जस्तै ठिमीका सुरज प्रजापतिले पनि विगत १५ वर्षदेखि पाला बेज्दै आएका छन्। उनको अवस्था पनि अहिले सुन्दरी प्रजापतिको भन्दा केही कम छैन। उनको व्यापार पनि मन्द छ। ‘अघिल्लो वर्ष राम्रो भएको थियो। यसपालि खासै बिक्रि भएको छैन,’ उनले पनि दुःखेसो गरे। 
तिहार नजिकिदै जाँदा पालाको बिक्रिमा देखिएको कमिले उनलाई ब्यग्र बनाएको छ। उनी लगानी पनि नउठ्ने हो कि भनेर चिन्तित छन्। ‘आधा जति पाला त फुटेका छन्। यसपालि नाफाको कुरा छौडौं, लगानी पनि नउठ्ला जस्तो छ,’ उनले भने। 

पहिले उनी आफै पाला बनाउँथे। तर, भक्तपुरमा खुम्चिदै गएको जग्गाको अभावमा उनले पाला बनाउन छोडेका थिए। ‘के गर्ने पाला बनाउने माटो नै पाइदैन,’ उनले समस्या बताए। 

यी दुई जस्तै अहिले उपत्यकामा पालाको व्यापार गर्ने सबै समस्यामा देखिएका छन्। उनीहरूको एउटै प्रार्थना छ, कोरोना महामारी छिट्टै समाप्त होस् र व्यापार व्यवसाय पुरानो अवस्थामा फर्कियोस्।

प्रकाशित मिति: : 2020-11-12 17:56:00

प्रतिकृया दिनुहोस्