रेस्टुरेन्टको उकुसमुकुस : न टिक्न सजिलो न बिक्न

अनलाइनखबर

काठमाडौँ
तस्बिर : अनलाइनखबर

रवीन्द्र घिमिरे

ठमेलको नरसिंहचोक छेउमा २०७६ असारमा खुलेको थियो, स्यान्डविच प्यालेस । नयाँ भवनमा नयाँ ऊर्जाका साथ ब्यापार चम्काउन लागेका थिए, सञ्चालक यादवराज पाण्डे । ठमेलमै २९ वर्ष रेस्टुरेन्ट चलाएको अनुभव र आत्मविश्वास थियो उनीसंग ।

तर, एकवर्ष नपुग्दै माघ दोस्रो साता काठमाडौंमा कारोना संक्रमणको पहिलो केस देखियो, फागुन लाग्दा नलाग्दै रेस्टुरेन्टमा ग्राहक पातलिन थाले । चैतमा त लकडाउन नै भयो । त्योसंगै ३२ लाख रुपैयाँ लगानी गरेको रेस्टुरेन्टमा ताल्चा लाग्यो ।

पाण्डेले समस्यामा परेपछि घरबेटीसँग सहयोग मागे, ५० प्रतिशत भाडा छुट पनि पाए । तर, आय सुकेको बेला ठमेलजस्तो महंगो ठाउँमा दुईवटा रेस्टुरेन्टको भाडा तिरिरहन उनले सकेनन् । त्यसपछि उनले २८ लाख रुपैयाँ घाटा खाएरै स्यान्डविच प्यालेस बन्द गर्ने निर्णय लिए ।

इन्टेरियर डेकोरेसनसहित सबै पक्षको लगानी खेर गयो, ’उनी भन्छन्, ‘नयाँ ठाउँमा पिक–अप गर्दागर्दै महामारीले चौपट गरायो, लगानी डुवायो ।’

पाण्डेले रेस्टुरेन्ट छोडेपछि घरबेटी आफैंले पश्मिना पसल राख्न नयाँ सेटअप गर्दैछन् । ‘स्यान्डविच प्यालेस’को बोर्ड हटिनसकेको रेस्टुरेन्ट अगाडि पाण्डेले भने, ‘सरकारी नीति पनि हामीजस्ता साना व्यवसायीको लगानी जोगाउने गरी आएन, ठमेलमा मजस्ता थुप्रै साना व्यवसायीको कथा–ब्यथा यही हो ।’

प्रकाशित मिति: : 2020-11-13 16:19:00

प्रतिकृया दिनुहोस्