विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्छ: मन्त्री भट्टराई

बिएल संवाददाता

काठमाडाै‌ं

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई हेरेर भएपनि छुट्टै सुरक्षा इकाईको आवश्यकता रहेको बताएका हुन्।

‘यसको धेरै खाँचो छ। ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिएर छुट्टै सुरक्षा युनिट गठनका लागि सुरक्षा अंगहरु र सम्बन्धित मन्त्रालयसँग छलफल थालेका छौं,’ उनले भने।

अन्तर्राष्ट्रिय अपराधिक क्रियाकलापसँग र त्यस्ता संगठनहरुसँग नजिक भएका व्यक्तिहरु समेत विमानस्थलबाट आवतजावत गर्ने सम्भावना भएकाले त्यसको नियन्त्रणका लागि छुट्टै विशिष्टिकृत तालिम प्राप्त सुरक्षा युनिटको आवश्यकता पर्ने बताए। 

यस्तै देशभित्र सञ्चालित कतिपय विमानस्थलहरु दक्षिण र उत्तरतर्फको सीमाना नजिक रहेको र त्यस्ता विमानस्थल बढि संवेदनशिल हुने उनले बताए। 

नेपालमा विमानस्थलको संख्या बढ्दै गएको र उडान संख्या पनि बढ्दै जाने भएकाले देशभरका विमानस्थलको सुरक्षा संवेदनशिलतालाई हेरेर भएपनि छुट्टै सुरक्षा युनिट स्थापना गर्नुपर्ने आवश्यकता रहेको मन्त्री भट्टराईले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय ५० सुरक्षाकर्मी क्षमताको विमानस्थल सुरक्षा ब्यारेक निर्माण सम्पन्न भई समुद्घाटन गरिएको हो।

प्रकाशित मिति: : 2020-11-17 15:31:00

प्रतिकृया दिनुहोस्