लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ जना घाइते

लमजुङ दोर्दी गाउँपालिका ४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । 

सुन्दरबजार नगरपालिकाबाट दोर्दी ५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप मंगलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीय सोनी गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
जीप दुर्घटनामा घाइते गुरुङको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए। 

मृत्युपश्चात मृतक गुरुङको शव परीक्षणका लागि बेँसीशहर नगरपालिका८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको  छ । 

त्यस्तै ११ जना घाइतेमध्ये चार गम्भीर र सात जना सामान्य घाइते भएका छन् । गम्भीर घाइते हुनेहरुमा सोही गाउँपालिका वडा नं ५ का १५ वर्षीय निराजन गुरुङ, १७ वर्षीय सुरेश गुरुङ, २० वर्षीय प्रकाश गुरुङ र वडा नं ४ का ४८ वर्षीय पञ्चबहादुर तामाङ रहेकाे  निरीक्षक पुनले जानकारी दिए।

त्यस्तै अन्य घाइते हुनेहरुमा सोही जीपका चालक दोर्दी–५ पाचोकका ३७ वर्षीय मखनसिंह गुरुङ, सोही वडाका ३५ वर्षीय दुखित गुरुङ, पाँच वर्षीय दीपशन गुरुङ, पाँच वर्षीया आशिका गुरुङ, ४२ वर्षीया मसिना गुरुङ, १६ वर्षीय निराञ्जन गुरुङ र आठ वर्षीया निर्जला गुरुङ रहेका छन् । 

घाइते ११ जनाको पनि उक्त सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको हातखुट्टा, ढाड, टाउकोलगायत शरीरका विभिन्न स्थानमा चोट लागेको  निरीक्षक पुनले जानकारी दिए ।

रातिको समयमा साँघुरो र अप्ठ्यारो सडकमा कुनाबाट जानुपर्ने जिप सडक छेउबाट जाँदा दुर्घटना हुन पुगेको प्रहरी निरीक्षक पुनको भनाइ छ । उनका अनुसार जीप सडकबाट १५ मिटर तल किसेदीखोलामा खसेको थियो । 

प्रकाशित मिति: : 2020-11-18 08:05:00

प्रतिकृया दिनुहोस्