‘अहिले त संविधान पनि प्रधानमन्त्री बन्नकै लागि मात्र स्वीकारेका हुन् कि जस्तो लाग्छ’

रातोपाटी

काठमाडौँ
तस्बिर : रातोपाटी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगिसकेको छ । कतिपय नेताहरु पार्टी एकता नै संकटमा परेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । शीर्ष नेताहरु आ–आफ्नो गुटको छलफलमा छन् । दुईजना अध्यक्षको बीचमा पत्र आदान–प्रदान पनि भएको छ तर पत्रले पार्टीका समस्या समाधान गर्नुभन्दा झन् बिगारेको जस्तो देखिएको छ । त्यसो त, पार्टी एकता भए यता कयौँ पटक यस्ता समस्या नआएका होइनन् । तमाम विवादलाई कुनै न कुनै रुपमा सुल्झाएर सम्भावित दुर्घटना टार्न नेताहरु सफल हुँदै आएका छन् । तर विवाद सुल्झाउने क्रममा विगतमा भएका सहमतिहरु पालना नभएको भन्दै यतिबेला सचिवालयका बहुमत सदस्यहरु बैठक बोलाएर आवश्यक निर्णय गर्ने तयारीमा छन् । नेकपाभित्रको पछिल्लो विवाद समाधान होला त ? समाधानका आधार के हुन सक्छन् ? प्रस्तुत छ, नेकपाको आन्तरिक राजनीतिमा उठेका यी र यस्ता अनेक प्रश्नका बारेमा सो पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री मातृका यादवसँग रातोपाटीका प्रतिनिधिले गरेको कुराकानीः

नेकपा गठन भएदेखि नै सानोतिनो विवाद हुँदै आएकै हो । अहिले विवादले ठुलो रुप लिएको छ । खासमा यत्रो विवाद कसरी उत्पन्न भयो ?

–विश्वमै एकखालको राजनीतिक धु्रवीकरणको बहस चलिरहेको बेला विभिन्न दुई धारमा रहेको एमाले र माओवादी पार्टीबीच चुनावी मोर्चा हुँदै एकीकरण भयो । पार्टी एकतासँगै एउटा वैचारिक, राजनीतिक, संगठनात्मक रुपमा प्रतिवेदन नै पारित भयो । विधि, विधान सबै निर्माण भयो । अहिले त्यही विधि, विधानलाई मान्ने कि कसैको व्यक्तिगत विचारलाई मान्ने भन्नेमा संघर्ष चलिरहेको छ ।

एउटा धार आफू खुसी हिँड्न खोज्ने, एउटा धार पार्टीको विचार, पद्धति, सिद्धान्तअनुसार हिँड्न खोज्ने र हिँडाउन खोज्ने । यसखालको दुईटा धार सुरुदेखि नै थियो तर सुरुमा विवाद त्यति गहिरिएको थिएन । पार्टीको गतिविधि अगाडि बढ्दै जाँदा दुईवटा चिन्तन झाङ्गिदै गयो । पार्टीको जुन मूल्य–मान्यता छ, त्यो अनुसार अगाडि बढ्ने कि व्यक्तिको सोच अनुसार अगाडि बढ्ने भन्नेमा संघर्ष चलिरहेको छ । पार्टीको नेतृत्वमा सरकार बस्ने कि सरकारको नेतृत्वमा पार्टी बस्ने भन्ने पनि अहिले बहसको विषय बनेको छ ।

प्रकाशित मिति: : 2020-11-18 11:37:00

प्रतिकृया दिनुहोस्