अमेरिकामा अब घरमै बसेर ३० मिनेटमा कोरोनाको रिपोर्ट लिन सकिने

संजोग आचार्य

न्युयोर्क

अमेरिकाको ‘फुड एन्ड ड्रग’ प्रशासन (एफडिए) ले पहिलो पल्ट घरमै बसेर कोभिड परीक्षण गर्ने कार्यलाई मंगलबार स्विकृति प्रदान गरेको छ। 

अब अमेरिकी जनताले सेल्फ कोभिड टेस्ट किटमार्फत घरमा बसेर ३० मिनेटभित्र आफ्नो रिपोर्ट सहजै प्राप्त गर्नेछन्। 

एफडिएले दिएको जानकारी अनुसार एक पल्ट मात्र प्रयोग गर्न सकिने यो किटको निर्माण ल्युकिरी हेल्थले गरेको हो। यसको प्रयोग इमर्जेन्सीको बेला गर्न सकिन्छ। 

१४ वर्षदेखि माथिकाले यसको प्रयोग गर्न सक्ने एफडिएले स्पष्ट पारिसकेको छ। 

एफडिएका एक अधिकारी स्टिफन हानले यसको प्रयोग घर बसेर आफैले गर्न सकिने बताएका छन्। ‘१४ वर्षभन्दा माथिको हकमा घरमै बसेर आफैले रिजल्ट हेर्न सक्छन्।

तर, १४ वर्षभन्दा कम उमेरको मानिसको हकमा टेस्टको स्याम्पल स्वास्थ्य कर्मचारीले गर्नुपर्ने छ,’ स्टिफनले हालै एक अन्तर्वार्तामा भनेका छन्। 

यसैबीच अमेरिकाले आफ्ना सबै नागरिकलाई कोरोनाविरूद्ध खोप लगाउने योजनालाई मूर्तरूप दिन गृहकार्य सुरु गरेको छ। 

आउँदो महिनादेखि यो अभियान सुरु हुने बताइएको छ। एक रिपोर्टअनुसार डिसेम्बरको अन्त्यसम्म करिब दुई करोड व्यक्तिलाई खोप लगाउने कार्य सम्पन्न भइसक्ने छ। 

आउँदो अप्रिलसम्म भ्याक्सिनको ७० करोड डोज तयार हुने सम्भावना छ। यी तथ्यांकलाई हेर्दा, अमेरिकामा सबै नागरिकलाई खोप दिँदा अप्रिलदेखि सुरु भएर जुलाईसम्मको समय नाघ्ने छ। 

हाल अमेरिकामा मोडर्ना र फाइजर जस्ता भ्याक्सिनको तयारी भइरहेको छ।

प्रकाशित मिति: : 2020-11-18 19:51:00

प्रतिकृया दिनुहोस्