अमेरिकाको एउटा अचम्मको शहर, जहाँ अब ६५ दिन सूर्य देखिने छैन

संजोग आचार्य

न्युयोर्क

अमेरिकाको एउटा यस्तो शहर, जहाँ बसोबास गर्ने मानिसले अबको ६५ दिनसम्म अध्यारोमा जीवनयापन गर्नुपर्ने छ। 

यो कुराले तपाईहरूमध्ये धेरैलाई छक्क पार्न सक्छ। तर, सत्यता योभन्दा फरक छैन। अर्थात अलास्का राज्यको उतकियागविक शहरमा बसोबास गर्ने अमेरिकीले अबको ६५ दिनसम्म सूर्यको कुनै प्रकाश देख्ने छैनन्। 

यहाँका मानिसहरू यसलाई ‘सिक्स्टि फाइभ डेज अफ डार्कनेस’ अर्थात अध्यारोको ६५ दिन भनेर सम्बोधन गर्छन। यो शहरमा १८ नोभेम्बरमा अन्तिम पल्ट सूर्यको किरण झुल्किएको थियो। अब एकै पल्ट २३ जनवरीमा मात्र यहाँका वासिन्दाले सूर्यलाई देख्नेछन्। 

सौर्यमण्डलको नियमविपरित आखिर यही शहरमा यस्तो अचम्मको घटना कसरी सम्भव भयो? यो बुझ्न पृथ्वीको बनावट र यहाँको भूगोल बुझ्न जरुरी छ। प्रकृतिको नियमअनुसार पृथ्वीले सूर्यको परिक्रमा गरिरहेको हुन्छ। जसका कारण पृथ्वीको एउटा भागमा १२ घण्टा सूर्य देखिने गर्छ भने अर्को भाग अध्यारो अर्थात राती हुन्छ।  

पृथ्वीलाई सूर्यको पुरै परिक्रमा गर्न ३६५ दिन, ६ घण्टा र ४८ मिनेट लाग्छ। यसैले हामी ३६५ दिनलाई एक वर्ष बितेको रूपमा गणना गर्छो। 

भूगोलमा पनि हामीले पढेका छौं, पृथ्वी आफ्नो ‘एक्सिस’ मा २३.५ डिग्री झुकेको छ। अर्थात पृथ्वी गोलो त छ तर अलिकति तेर्‍सो पनि। यसको दुई ध्रुव छ, उत्तर र दक्षिण। पृथ्वी अलिकति झुकेको कारण जब यसले सूर्यको परिक्रमा गर्छ, एउटा ध्रुवमा सूर्यको प्रकाश पर्ने गर्छ। यो प्रक्रिया ६ महिनाको हुन्छ। अर्थात ६ महिनामा पृथ्वीको उत्तरी ध्रुवमा प्रकाश पर्‍यो भने दक्षिणी ध्रुवमा प्रकाश पर्देन। 

पृथ्वी सिधा भएको भए, यसले सूर्यको परिक्रममा गर्दा सबै ठाउँमा १२ घण्टा दिन र १२ घण्टा राती हुन्थ्यो। तर, अलिकति झुकेको कारण सूर्यको परिक्रमा गर्दा केही ठाउँमा दिन र रात केही लामो हुन जान्छ। 

यसमा पनि पृथ्वी २३.५ डिग्री झुकेका कारण उत्तर र दक्षिणी ध्रुवमा सूर्य वर्षमा एक पल्ट सँगै उदाउने गरेको छ र अस्ताउँछ पनि। 

यस हिसाबले उतकियागविक शहरको भूगोलका कारण यस्तो हुन गएको हो। यो शहर उत्तरी ध्रुवदेखि २ हजार ९२ किलोमिटरको दुरीमा बसेको छ। उत्तरी ध्रुवले ‘आर्कटिक सर्कल’ बनाएको हुन्छ भने दक्षिणी ध्रुवमा ‘अन्टार्कटिका सर्कल’ बनेको हुन्छ।
 
उतकियागविक शहर ‘आर्कटिक सर्कल’ को पनि उच्च भागमा पर्छ। ‘आर्कटिक सर्कल’ को उच्च भागमा पर्ने कारण यहाँ सूर्यको किरण आउन सक्दैन। यो प्रक्रियालाई ‘पोलर नाइट्स’ पनि भनिन्छ। जुन शहर उत्तरी ध्रुवसँग नजिक हुन्छ, त्यहाँ त्यति नै लामो दिन र रात हुने गर्छ। 

यस शहरमा जनवरीमा निकै जाडो हुन्छ। जाडोको मौसममा यहाँको तापमान नै माइनस २३ डिग्रीसम्म पुग्ने गरेको छ। ६५ दिनसम्म सूर्य नदेखिनुको अर्थ यो पनि होइन, यहाँ अध्यारो मात्र हुन्छ। यसको अर्थ हो, सूर्य त उदाउँछ तर यसको किरण यहाँ राम्रोसँग पुग्न सक्दैन। 

‘पोलर नाइट्स’ सुरु भएपछि सुरुवातमा यहाँ दिनमा ६ घण्टा भिजिबिलिटी हुन्छ। तर, बिस्तारै यो घटदै गएर ३ घण्टासम्म पुग्छ। 

गर्मीयाममा यहाँ ८२ दिनसम्म उज्यालो मात्र हुन्छ। जसलाई ‘मिडनाइट सन’ को संज्ञा दिने गरिन्छ। यहाँ १२ मेबाट उज्यालो सुरु हुन्छ र २ अगस्टसम्म रहन्छ।

प्रकाशित मिति: : 2020-11-20 08:55:00

प्रतिकृया दिनुहोस्