मेरो मन

मेरो मन मलाई मन नपरि नपरि
कैयौं भाषाहरू भकभकी उमाल्छ
सुगा जस्तै जबर्जस्ती सिको गर्छ
कसैले बुझेपनि कसैले नबुझेपनि
म बोल्छु आफ्नो भाषा ओकल्छु
अनि म आफ्नै मनलाई शान्त पार्छु।

मेरो मन मलाई मन नपरि नपरि
कैयौं आदर्शहरूको खिचडी बनाउँछ
दार्शनिक भए जस्तै दर्शन अलाप्छ
कसैले बुझेपनि कसैले नबुझेपनि
म बोल्छु आफ्नो दर्शन ओकल्छु
अनि म मेरो मनलाई शान्त पार्छु।।

मेरो मन मलाई मन नपरि नपरि 
कैयौं दुःख वेदनाको ताल बनाउँछ
मनको बेदना फुटाउँदै आशु बनाउँछ 
कसैले बुझेपनि कसैले नबुझेपनि
म रुन्छु म आफ्नै भित्र कराउँछु
अनि आफ्नै मनलाई शान्त पार्छु।।

मेरो मन मलाई मन नपरि नपरि
कैयौं प्रेम भावहरु भित्र पकाउँछ
प्रेमिल सपनाहरु सँगसँगै रमाउँछ
कसैले बुझेपनि कसैले नबुझेपनि
म बोल्छु प्रेमिल भावहरू ओकल्छु
सपनाहरु बुन्छु सपनाहरु बाड्छु
अनि आफ्नै मनलाई शान्त पार्छु।।

प्रकाशित मिति: : 2020-11-21 14:49:00

प्रतिकृया दिनुहोस्