चितवन र सुर्खेत घटना नेकपा विभाजनको पूर्वाभ्यास !

शिलापत्र

काठमाडाैं

६ मंसिरको दिउँसो चितवनको राप्ती नगरपालिकाको राप्ती नगर कमिटी बैठकमा सम्बोधन गर्दै थिए, सुरेन्द्र पाण्डे । 

सम्बोधनको अन्तिमतिर अध्यक्ष तथा केपी ओलीनिकट कार्यकर्ताले प्रचण्ड-माधव नेपाल पक्षका पाण्डेविरुद्ध नाराबाजी गरे । जब पाण्डे मदन भण्डारी फाउन्डेसनका नाममा राजनीतिक अभिष्ट पूरा गर्न सञ्चालित गतिविधि रोक लगाउने स्थायी समितिले निर्णय गरेको प्रसंगको व्याख्या गर्दै थिए, त्यही क्रममा नाराबाजी भयो पाण्डेविरुद्ध ।

खासमा त्यो बहाना मात्र थियो, ओली समूह पछिल्ला दिनमा प्रचण्ड-माधव नेपाल समूहविरुद्ध केन्द्रदेखि स्थानीय तहसम्म वाकयुद्ध मात्र होइन, समानान्तर गतिविधिमा समेत लागिसकेका थिए । त्यसको प्रतिफलमात्र थियो, चितवन घटना ।

शनिबारको चितवन घटनासँगै जोडेर विश्लेषण गर्नुपर्ने हुन्छ सुर्खेतको अर्को प्रसंग । सुर्खेतमा ओली पक्षले मदन भण्डारी स्पोर्टस एकेडेमीको ब्यानरमा भेला गर्‍यो । एकेडेमीको ब्यानरमा सुर्खेतमा ओली पक्षको भेला भइरहँदा चितवनमा पाण्डे त्यही ब्यानरको विपक्षमा बोल्दै थिए ।

६ मंसिरको मध्यान्हका यी दुई घटनालाई जोड्न १९ कात्तिकको ओलीको गोप्य प्रशिक्षणसम्म पुग्नुपर्ने हुन्छ । ओलीले त्यसदिन पार्टी विभाजनको डिलमा पुगेको संकेत मात्र गरेका थिएनन्, वैचारिक धारको संरक्षणका लागि जनताको बहुदलीय जनवाद (जबज)लाई स्थानीयस्तरसम्म लैजान निर्देशन पनि दिएका थिए । र, त्यसका लागि मदन भण्डारी फाउन्डेसनको ब्यानरलाई उपयोग गर्न ओलीको निर्देशन थियो । ओलीको त्यो निर्देशनको १७ दिनपछि अर्थात् ६ मंसिरमा सुर्खेतबाट ओली समूहले सुरु गरेको छ ।

प्रकाशित मिति: : 2020-11-22 00:43:00

प्रतिकृया दिनुहोस्