‘मन्त्रीका ज्वाइँले केपी ओली जिन्दावाद भन्दै नारा लगाए’

अनलाइनखबर

काठमाडाैं

चितवनमा मेरो निर्वाचन क्षेत्रअन्तरगत पर्ने राप्ती नगरपालिकामा शनिबार पार्टीको नगर कमिटी बैठक आयोजना गरिएको थियो । त्यहाँ मलाई अतिथिका रुपमा निम्त्याइएको थियो । प्रधानमन्त्रीजीकी जनसम्पर्क सल्लाहकार सीता पौडेलकी भाइबुहारी प्रभा बराल यस नगरपालिकाको मेयर हुनुहुन्छ । उहाँ बैठकमा आउँदा ८/१० जना केटाहरु पनि उहाँसँगै आए ।

अरुले आसन ग्रहण गरिरहेका थिए, मेयरलाई वीचमा आसन ग्रहणका लागि नाम लिँदा ती केटाहरुले पर्रर ताली पिटे । उहाँलाई बोल्न उद्घोषकले बोलाउँदा पनि पर्रर ताली पिट्दै थिए । बैठकस्थलमा कानेखुशी पनि गर्दैथिए । यसबाटै उनीहरु किन आएका हुन् भन्ने बुझिन्थ्यो । 

मैले बैठकको उदघाटन सत्रमा बोल्ने क्रममा पार्टीको कार्यदलले कसरी काम गर्‍यो भन्ने कुराहरु राखें । पुष्पलाल होस् या मदन भण्डारीको नाममा, कुनै पनि फाउन्डेसनहरु नबनाउने, त्यसले पार्टीभित्र गुटबन्दीको आधार बन्यो भन्ने हामी कार्यदलका सबैको सहमति हो भन्ने कुरा मैले राखें । यो कुरा हामीले दस्ताबेजमा लेख्यौं, स्थायी कमिटीले निर्णय गर्‍यो र यो अहिले पार्टीको निर्णय नै भइसक्यो र सबै सदस्यका वीचमा सर्कुलर पुग्या छ । म यिनै कुराहरु भन्दै थिएँ, उनीहरु नारा लगाउन थाले ।

उनीहरुले मदन भण्डारी फाउन्डेसन जिन्दावाद, जबज जिन्दावाद, केपी ओली जिन्दावाद जस्ता नाराहरु लगाए ।

नाराबाजी भएपछि मेयर पनि आत्तिन थाल्नुभयो । उहाँलाई अरु साथीहरुले तिनीहरुलाई ल्याएर यहाँ होहल्ला गराउने भन्दै गरेको सुनेको थिएँ । त्यसपछि उहाँ झन् आत्तिनुभयो । मचाहिँ उनीहरुले हल्ला गरुञ्जेल हाँसेर बसिरहें ।

मेरो भाषण सकिएको थियो । त्यसपछि अध्यक्षले बोल्ने सेसन अन्त्य गर्नुभयो । १ बजे भरतपुरको अर्को कार्यक्रममा जानुपर्ने थियो, हामी त्यहाँबाट हिँड्यौं ।

यसरी नारा लगाउने अगुवा को थिए त भन्दा चितवन जिल्ला कमिटीका पूर्वअध्यक्ष जगन्नाथ थपलियाका छोरा सुरज थपलिया । सुरजका बुबा जगन्नाथजी अहिले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका सल्लाहकार हुनुहुन्छ ।

नाराबाजीको अगुवाइ गर्ने सुरजका ससुरा दाबा लामा पनि वागमती प्रदेशकै भूमि व्यवस्था सहकारी तथा कृषिमन्त्री हुनुहुन्छ । उनै मन्त्रीका ज्वाइँको अगुवाइमा त्यहाँ नारा लगाउने काम भयो ।

प्रकाशित मिति: : 2020-11-22 00:47:00

प्रतिकृया दिनुहोस्