उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय रुपाटारमा बम विस्फोट भएको छ। 

गाउँपालिका कार्यालयको नागरिक सहायक कक्षमा आइतबार बिहान सवा एक बजे बम विस्फोटन भएको हो।

अर्को बम कार्यालयको गेटमा राखिएको छ। बम विस्फोटनबाट प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्ष पूणरुपमा क्षति पुगेको गाउँपालिका  गाउँपालिका प्रमुख उद्धवसिंह थापाले बताए।

उनका अनुसार विस्फोटबाट कार्यालयका झ्यालढोकाका सिसा फुटेका छन् भने भवन चर्किएको छ। 

बाहिर अर्को बम राखिएको हुँदा घटनास्थल प्रहरीले नियन्त्रणमा लिएको तर क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताए। 

कार्यालयको गेटमा राखिएको बम डिस्पोजल गर्न १८ नम्बर बाहिनी अड्डा भुल्केलाई खबर गरिएको छ।

बम विस्फोटको अहिलेसम्म कसैले जिम्मा लिएको छैन। गेटमा राखिएको बम निस्क्रिय गराएपछि घटनाको थप विवरण आउने जिल्ला प्रहरी कार्यलाय उदयपुरले जनाएको छ। गाउँपालिकाको आफ्नै कार्यालय नहुँदा महेन्द्ररत्न माध्यमिक विद्यालयको भवनमा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ।

गाउँपालिका अध्यक्ष थापाले पनि विस्फोट गराउनुपर्ने कुनै कारण नरहेको बताए। 

आफूहरूलाई अहिलेसम्म कतैबाट कुनै प्रकारको माग, धम्की केही नआएको र एक्कासी विस्फोट गराइएको उनले बताए। ‘बम विस्फोटन कसले र किन गराएको भन्ने आफू अनभिज्ञ छु। एक्कासी विस्फोट गराइएको छ,’ थापाले भने।

 गाउँपालिकाले शनिबारदेखि करारमा कर्मचारी नियुक्तीका लागि परीक्षा लिन सुरु गरेको थियो। 

प्रकाशित मिति: : 2020-11-22 14:24:00

प्रतिकृया दिनुहोस्