प्रधानमन्त्रीसँग घुन्सावासीको मागः उपचार नपाएरै मर्नुपर्ने दिन नआओस् !

Breaknlinks
Breaknlinks

घुन्सा : फक्ताङलुङ गाउँपालिका ६ घुन्साकी डोङ्गा शेर्पाले २०७२ सालमा प्रशवमै ज्यान गुमाइन् । घरमै सुत्केरी भएकी उनको रगत थामिएन । साल पनि झरेन ।अत्याधिक रक्तश्रावका कारण बच्चा जन्मिएको दुई दिनपछि डोङ्गा र नवजान शिशुको मृत्यु भएको थियो । घुन्सामा पछिल्लो दुई दशकमा चार महिलाको प्रशवमै मृत्यु भएको स्थानीय टासी तेञ्जिङ शेर्पाले बताए । अन्य स्वास्थ्य समस्या पर्दा पनि उपचार पाउन कठिन छ ।

सोमबार घुन्सा आउन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुन्सावासीले स्वास्थ्य समस्या समाधानको माग प्रमुख रुपमा राख्ने भएका छन् । ‘मैले त उपचार गर्न नसक्दा श्रिमती गुमाएँ । यसरी उपचार नपाएर मर्ने दिन अब कसैको नआउन् भनेर प्रधानमन्त्रीज्यूलाई माग राख्ने तयारी गरेका छौं,’ डोङ्गाका श्रिमान गोङ्देलाले भने । यहाँ स्थायी स्थास्थ्य चौकीको स्थापना हुनुपर्ने मुख्य माग रहेको उनले सुनाए ।

घुन्सा फाउण्डेसनले निर्माण गरेको स्वास्थ्य इकाईको भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली घुन्सा आउन लागेका हुन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ स्थित घुन्सा कञ्चनजंघा हिमालको काखमा रहेको बस्ती हो । यहाँ ४० घरको बसोबास छ । सदरमुकाम फुङलिङबाट यहाँ पुग्न तीन दिन पैदल हिड्नुपर्छ ।

प्रकाशित मिति: : 2020-11-23 00:06:00

प्रतिकृया दिनुहोस्