लमजुङका जिल्ला इन्चार्जसहित ६ जना विप्लव कार्यकर्ता पक्राउ

विप्लब समूहको जिल्ला इन्चार्ज र सेक्रेटरीसहित ६ जना विस्फाेटक पदार्थसहित पक्राउ परेका छन्। 

प्रहरीले दोर्दी गाउँपालिका ८ खिन्चोक पाँचस्वाराबाट रोल्पाको गंगादेव गाउँपालिका २ घर भएका लमजुङ जिल्ला इन्चार्ज ४२ वर्षीय जंगबहादुर भण्डारी, दोर्दी ७ घर भएका जिल्ला सेक्रेटरी ४६ वर्षीय बिलबहादुर गुरुङसहित ६ जनालाई पक्राउ गरिएकाे हाे।

गएराति १ बजेको समयमा उनीहरु भेला भइ अवाञ्छनिय गतिविधि गरेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाले जानकारी दिए। 

पक्राउ पर्ने अन्यमा लमजुङको मध्यनेपाल नगरपालिका ४ घर भएका लमजुङ जिल्ला कमिटी सदस्य ६२ वर्षीय नारायणबहादुर कुँवर, राईनास नगरपालिका–६ का जिल्ला सदस्य ३४ वर्षीय रविन्द्र नखोला, दोर्दी ७ का २२ वर्षीय दुर्गालाल तामाङ र मध्यनेपाल १० का २६ वर्षीय सुजन थापा रहेका छन्।

उनीहरुलाई खानतलासी गर्ने क्रममा झोलाभित्र लुकाइछिपाइ राखेको विस्फाेटक पदार्थ गन्धक ५ सय ग्राम, बारुद ५ सय ग्राम, सोडा ५ केजी सेप्टिफ्युज १.५ मिटर, रोल क्याप लेखिएको पटका ७ रोल, सिसाका छर्राहरु बरामद गरिएको छ।

यस्तै, पार्टीसँग सम्बन्धित पोस्टर ५० थान, नेकपाको पर्चा ५० थान, नगद ३१ हजार ६ सय ८५ रुपैयाँ, चन्दा रसिद एउटा, ग १५ प ८१३७ र बा ७४ प ७०८७ नम्बरका मोटरसाइकल, मोबाइल ८ थानसमेत बरामद गरिएको थापाले बताए। 

उनीहरुविरुद्ध विष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-11-23 16:02:00

प्रतिकृया दिनुहोस्