अमेरिकामा ह्यारीको दोस्रो कार्यकालको उम्मेद्वारी घोषणा : गर्व गर्नलाई हो, जल्नलाई हैन

अमेरिकी राजनीतिमा पहिलो स्टेट डेलिगेट बनेर नेपाली मूलको मानक बनेका ह्यारी भण्डारीले दोस्रो कार्यकालका लागि उम्मेद्वारी घोषणा गरेका छन्। उनको यो घोषणा मेरिल्याण्ड राज्य डिस्ट्रिक्ट ८ को प्रतिनिधित्व गर्ने स्टेट डेलिगेटका लागि हो।

भण्डारी अहिले यही डिस्ट्रिक्टको प्रतिनिधित्व गर्दै मेरिल्याण्ड राज्यको स्टेट डेलिगेट रहेका छन्। सन् २०१८को मध्यावधि निर्वाचनमा पहिलो पटक विजयी भएर उनले अमेरिकी राजनीतिमा नेपाली मूलका लागि मानक उपलव्धी हासिल गरेका थिए। त्यही उपलव्धीलाई निरन्तरता दिदै थप उपलव्धी हासिल गर्न उनी २०२२ मा हुने निर्वाचनमा अहिलेदेखि नै होमिएका हुन्। 

भण्डारी सुरूदेखि नै अमेरिका आएर अंगिकृत नागरिकका सारा प्रक्रिया पूरा गरेर अमेरिकी नागरिक भएका नेपालीले सगौरव अमेरिकी-नेपाली हुँ भन्न सक्नुपर्छ र यहीको राजनीति गर्नुपर्छ भन्ने सोचको नेतृत्व गर्दै आएका छन्। त्यही सोच साकार हुँदा उनले अमेरिकामा नेपाली मूलका लागि इतिहास बनाएका हुन्।

उनी अमेरिकामा स्टेट डेलिगेट हुने पहिलो नेपाली हुन्। उनको यो इतिहास सुनौलो अक्षरले कुँदिएको छ। इतिहासको त्यो सुनौलो पाना कोर्ने ह्यारीप्रति हरेक अमेरिकी नेपालीले गर्व गर्न सक्नुपर्छ। किनकि, यो उपलव्धी हासिल गर्न सन् १९१९ मा पहिलो पाइला टेकेको नेपाली मूलले झण्डै एक शताव्दी पर्खनु परेको थियो।

उनको यो उपलव्धी मेगा मिलियनजस्तो कुनै चिट्ठा हैन, दुई डलरमा खरिद् गर्यो र पर्यो भने रातारात मिलिनियर बन्ने। यसका लागि उनले चुनौतिको पहाडलाई अवसरको मैदान बनाउन कुनै कसर बाँकि राखेका छैनन्। आर्थिक उपलव्धीलाई सर्वश्व मान्ने सोचको विपक्षमा उभिएर ढुंग्याने बाटो हिँड्दा त्यो कोणबाट उनका पाइतालाहरू घोचिएका छन्। तर, उनले ती घोचिएका पैतालाहरूमै अभ्यस्त भएर अमेरिकी राजनीतिको असहज यात्रा जारी राखे। त्यसैको प्रतिफल हो, यो इतिहासको निर्माण। 

राजमागर्मा त जो पनि हिड्छ तर शीत परेका गोरेटाहरूमा यात्राका डोब कोर्न जो कोहीको रहर हुदैन। ह्यारी अमेरिकी मूलधारको राजनीतिमा त्यही गोरेटोको यात्री हुन्। उनले पछ्याएको गोरेटोबाट भोली थुप्रै ह्यारीहरू राजनीतिको राजमार्गमा आउँन सक्छन्। 

भनाइ नै छ, अमेरिका अथाह सम्भावनाको देश हो। ह्यारीले त्यही मर्मलाई आत्तमसात गर्दै अमेरिकी नेपालीका लागि सम्भावनाको ढोका खोलेका हुन्। 

कसैलाई लाग्न सक्छ, यो ह्यारीको प्रशश्ति भयो। त्यो लाग्नेहरूको जलन मात्र हो। यथार्थमा उनी योभन्दा बढी डिजर्भ गर्छन्।किनकि यो साइटेसनको खेतीपाती हैन। यो जनताको मतद्वारा निर्वाचित मेरिल्याण्डजस्तो राज्यको एक स्टेट डेलिगेटको उपलव्धी हो।

हरेक सिक्काका दुई पाटा हुन्छन्। ह्यारीको राजनीतिक यात्राका पनि दुई पाटा छन्। एक पाटोमा यो सकसपूर्ण छ तर अर्को पाटोमा यो त्यतिकै प्रतिष्ठापूर्ण पनि छ। उनको सकस नदेखेर प्रतिष्ठा मात्र देखिदा उनी यदाकदा समकालीन ईर्श्याको शिकार पनि हुने गरेका छन्। उनको उपलव्धीको लामो रेखालाई छोटो पार्न अर्को एउटा छोटो रेखालाई जबर्जस्ती लम्ब्याउने खेल पनि यदाकदा भएको पाइन्छ। केही नेपाली सञ्चारकर्मी मेरील्याण्ड राज्यको स्टेट डेलिगेट र एउटा केही सय मानिस बस्ने नगरको उपमेयर अनि एउटा सिटी काउन्सिलरलाई एउटै कोटीमा राखेर उनीहरूको उपलव्धीलाई तुलना गर्ने गर्छन्। यसो गर्दा कसैलाई मूतको न्यानो मिल्ला, कसैलाई जन्मदेश नेपाल र नेपाली डायस्पोरामा केही समय भ्रमको खेती गर्न पनि काम लाग्ला। तर, यो हत्केलाले सूर्य छेक्ने प्रयास मात्र हो। एन्टी थेसिमा यसलाई एक दुस्प्रयास नै भन्नुपर्छ। 

नेपालीमा एउटा भनाइ छ, गर्मीको बेला हिउँ पग्लेर हिमाल नांगो देखिन सक्छ अनि हिउँदको बेला हिउँ पर्दा थुम्को हिमालजस्तो देखिन सक्छ। तर, त्यो हिउँ नहुँदैमा न हिमाल थुम्को हुन्छ, न हिउँ हुदैमा थुम्को हिमाल हुन्छ। जो मानक अर्थमा जहाँ हुन्छ, त्यो त्यही हुन्छ र त्यसको परिभाषा पनि एन्टी थेसिसमा हैन, थेसिसमै हुन्छ।

ह्यरीको उपलव्धीबाट अब कोही अमेरिकी नेपाली जल्न आवश्यक छैन। यदि कसैले त्यो आवश्यक नभएको कुरा गर्न चाह्यो भने अब भण्डारी हैन, आफै जल्ने हो। किनकि, उनले आफूलाई प्रमाणित गरिसके, अरूले त्यसो गर्न हजारौ माइलको यात्रा शुन्यबाट सुरू गर्नुपर्छ। 

अमेरिकी राजनीतिमा पहिलो स्टेट डेलिगेट बनेर नेपाली मूलको मानक बनेका ह्यारी भण्डारीले दोस्रो कार्यकालका लागि उम्मेद्वारी घोषणा गरेका छन्। उनको यो घोषणा सुनौलो इतिहासको अर्कों पाना हो- शुभकामना।

अमेरिकाको नपाली डायस्पोरा एउटा ह्यारीमा रोकिने हैन, सयौ ह्यारी जन्माउने अभियानमा लाग्नुपर्छ। किनकि, यहाँ एक हैन, अनेक ह्यारीको आवश्यक छ। तर, त्यसका लागि ह्यारीको उपलव्धीबाट जल्ने हैन, उनको उपलव्धीलाई दोहोर्याउनु पर्छ। त्यसका लागि एउटै मन्त्र हुनुपर्छ, 'ह्यारी जस्तै म पनि गर्न सक्छु।' यो पोजिटिव कनोटेसन हो। तर, कसैलाई लाग्ला ह्यारीले गर्न सक्यो भने मैले किन नसक्ने?  सक्ने तर यो तरिका ठीक हैन। किनकि यो नेगेटिव कनोटेसन हो। यस्तो कनोटेसनले गलत संकथन निर्माण गर्छ।

यो बेला गलत संकथन बनाउने हैन, सही संकथन निर्माणका लागि योगदान दिने हो।

कसैलाई लाग्न सक्छ, यो त ह्यारीको प्रशश्ति भयो। त्यो लाग्नेहरूको जलन मात्र हो। यथार्थमा उनी योभन्दा बढी डिजर्भ गर्छन्।किनकि यो साइटेसनको खेतीपाती हैन। यो जनताको मतद्वारा निर्वाचित भएर मेरिल्याण्डजस्तो राज्यको एक स्टेट डेलिगेटका रूपमा बनेको सुनौलो इतिहास हो। 

अमेरिकाको इस्ट कोष्टको बाल्टिमोरमा ह्यारीले दोस्रो कार्यकालका लागि स्टेट डेलिगेटमा उम्मेद्वारी घोषणा गरिरहेको बेला यो पंक्तिकार अमेरिकाकै मध्यपश्चिम कान्सास सिटीमा गौरवको अनुभूति गरिरहेको छ। र, प्रशंशामा विरलै खर्चने अक्षर खर्च गरेर इन्डोर्समेन्ट गरिरहेको छ। असल अभियानका लागि एक अक्षरकर्मीले गर्न सक्ने सबैभन्दा ठूलो काम भनेको अक्षरको सलामी हो। ह्यारीजी, स्वीकार गर्नुहोस् मेरो अक्षरको सलामी। तपाईलाई विजयका लागि अग्रिम शुभकामना छ।

प्रकाशित मिति: : 2020-11-24 08:00:00

प्रतिकृया दिनुहोस्